बेइजिङ- बोस्टन म्याराथनका क्रममा नियम तोडेको आरोपमा ३ जना चिनियाँ धावकलाई आजीवन प्रतिबन्ध लगाइएको छ।
सोमबार भएको उक्त म्याराथनमा एक धावकले आफूले लगाएको प्रतियोगिताको जर्सी अर्कै व्यक्तिलाई दिएका थिए भने अन्य दुई धावकले नक्कली प्रमाणपत्र पेश गरी प्रतियेगितामा भाग लिएको खुलेको थियो।
चिनियाँ एथलेटिक्स एसोसियसन (सिएए)ले प्रतियोगितामा सामेल हुन गलत बाटो प्रयोग गरी धोका दिएको तथा यसबाट देशको प्रतिष्ठामा आँच आएको ठहर गर्दै म्याराथन खेलमा आजीवन प्रतिबन्ध लगाएको हो।
केही वर्षको अन्तरालमा चीनमा दौडमा निकै नै आकर्षण बढेर गएको पाइन्छ। सन् २०११ मा मात्र २२ वटा प्रतियोगिता भएकोमा गत वर्ष १५ सय प्रतियोगिताहरु आयोजना गरिएका थिए। बोस्टन म्याराथनमा मात्रै ५ सय भन्दा बढी म्याराथन धावकहरु सहभागी भएका थिए।
म्याराथनलाई लिएर चीनमा आकर्षण बढे पनि ठूलो संख्यामा छलकपटका घटनाहरु हुने गरेको बताइन्छ। प्रतियोगितामा सहभागीहरुले चर्चा र जितका लागि छोटो बाटो अपनाइरहेको घटनाहरु सार्वजनिक भइरहेका छन्। केही समयअघि मात्रै एक धाविकाले दौड पुरा गर्न मोटरसाइकलको सहायता लिएको पुष्टि भएको थियो।
'अन्तर्राष्ट्रिय समुदायमा यस घटनाबाट चीनको नकरात्मक प्रभाव परेको छ, त्यसकारण पनि तीनै जनालाई प्रतिबन्ध लगाइएको हो', सिएएले आफ्नो विज्ञप्तिमा भनेको छ।
चीनमा स्वस्थ र विवादरहित प्रतियोगिताहरुको आयोजना होस् भन्न खेलकुद परिषद्ले दौडमा हुने गरेका यस्ता क्रियाकलापलाई हटाउन सक्रियता देखाएको चिनियाँ सामाचार एजेन्सी 'सिन्ह्वा'ले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।