रत्ननगर (चितवन) – दक्षिण चितवनको माडी नगरपालिकामा सञ्चालित विद्युत सेवा नौ दिनदेखि अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई सास्ती भएको छ । विद्युत् नहुँदा काम ठप्प भएका छन्।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार भदौ १३ गते चितवन निकुञ्जको जमिनमुनि बिछ्याइएको तारमा देखिएको खराबी पत्ता लगाउन नसक्दा विद्युत आपूर्ति रोकिएको हो ।
खराबी पत्ता लगाउन भारतबाट मेसिन मगाइए पनि अहिलेसम्म चितवन आइनपुगेको पौडेल बताए।
निकुञ्जको जमिनमुनि बिछ्याइएको तारमा लगातार समस्या हुँदा असारदेखि भदौको आजसम्म तीन महिनामा झण्डै ५० दिन विद्युत् सेवा अवरुद्ध भएको छ । स्थानीय गोविन्द न्यौपाने लगातारको विद्युत् अवरोधले टेलिफोन लाइनसहितका विद्युतबाट हुने सबै काम प्रभावित हुँदै आएको बताए।
यसअघि गएको असार ५ गते बन्द भएको विद्युत सेवा १७ गते सञ्चालनमा आएको थियो । यस्तै साउन ४ गते पुनः अवरुद्ध भएकामा २८ गते मात्रै सञ्चालनमा आएको विद्युत फेरि भदौ १३ गतेदेखि पुनः अवरुद्ध भएको छ ।
विद्युत आपूर्तिको समस्या पत्ता लगाउन स्वदेशी प्रविधिले नसकेपछि भारतबाट विद्युत् फल्ट फाइन्डिङ (खराबी पत्ता लगाउने यन्त्र) ल्याउने गरिएको छ । भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले उक्त परियोजनामार्फत यहाँ गएको मंसिरदेखि बिजुली बालेको थियो। एकपटक उक्त मेसिन ल्याउँदा साढे चार लाख जति खर्च लाग्छ।
चनौली माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाका प्रमुख जगदीशचन्द्र जोशी जमिनमुनि पटकपटक समस्या देखिएकाले वैकल्पिक व्यवस्थाको विषयमा छलफल भइरहेको बताए। पटक पटक समस्या आए पछि अहिले प्राधिकरणले मेसिन किन्ने प्रक्रिया शुरु गरेको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।