दक्षिण कोरिया– कोरियामा कार्यरत ८ भन्दा बढी देशका प्रवासी श्रमिकका अगुवा हुन् उदय राई।
उनी नेपाली कामदार हुन्।
यहाँ कार्यरत विदेशी श्रमिकले तलब नपाउँदा, कम्पनीभित्रै दुर्व्यवहारमा पर्दा वा विभिन्न समस्यामा पर्दा उनलाई सम्झने गर्छन्।
विगत २७ वर्षदेखि कोरियामा बस्दै आएका राई आफू लगायत प्रवासी मजदुरका पक्षमा आवाज उठाउने गर्छन्।
श्रमिकमाथि हुने प्रशासनिक दुर्व्यवहार, प्रवासी श्रमिकको तलब कटौती गर्ने सरकारी निर्णय र विभेदको विरुद्धमा प्लेकार्ड बोकेर सरकारको दैलोमा उनी कयौंपटक उभिएका छन्।
राईकै संघर्षका कारण यहाँका आप्रवासी श्रमिकले निर्धक्क अधिकार प्रयोग गर्न पाइरहेका छन्।
को हुन् राई
उनी अन्तर्राष्ट्रिय श्रमिक संगठन(आइएलओ)द्वारा मान्यताप्राप्त कोरियामा कार्यरत आप्रवासी श्रमिकहरूको संगठन एमटियुण्का अध्यक्षसमेत हुन्।
एमटियु श्रमिकहरूको अधिकारका लागि लड्ने वैधानिक साझा संस्था हो। राईले विगत ५ वर्षदेखि यस संस्थाको नेतृत्व सम्हालिरहेका छन्।
एमटियुलाई वैधता प्रदान गर्नका लागि राईको भूमिका महत्वपूर्ण रहेको संगठनका पदाधिकारी बताउँछन्।
सन् २००५ मा उक्त संस्था स्थापना भएको थियो। स्थापता लगत्तै श्रम कार्यालयमा संस्था दर्ताका लागि प्रक्रिया अघि बढाइएको थियो।
तर, तत्कालीन संस्थाका सदस्यहरूको भिसा नभएका कारण संस्थाले वैधता पाउन सकेन।
अदालतमा मुद्दा परेपनि श्रम कार्यालयकै पक्षमा सदर भएपछि संगठन पुनः पुनरावेदन अदालत पुगेको थियो। पुनरावेदनले पनि ८ वर्षसम्म मुद्दा तामेलीमै राखिदियो।
यसकै विरुद्धमा उनी लामो समयसम्म अदालत अगाडि एकल धर्नामा बसे। पुनरावेदनले संस्था वैधताका लागि बाटो खुला गरिदिएको थियो। तर, श्रम कार्यालयले वैधानिकता दिन आनाकानी गरेपछि राईले धर्नालाई जारी राखे।
अनिश्चितकालीन धर्ना बसेका उनलाई २५औं दिनमा श्रम कार्यालयले संस्था वैधताको प्रमाणपत्र दिएको थियो। उनले सन् २००५ मा डब्लुपिएसको माग गर्दै सउल म्यंगदोनमा ३ सय ८१ दिनसम्म धर्ना बसी संघर्ष गरेका थिए।
राईको धर्नाले नै प्रवासी मजदुर युनियन स्थापनाका लागि बल पुगेको मजदुर अभियन्ताहरू बताउँछन्।
संघर्षमा उत्रिएका राई
नेपालको खोटाङमा जन्मिएका राई सन १९९१ मा पर्यटक भिसामा कोरिया आए।
त्यतिबेला कोरियामा वर्किङ भिसा पाइँदैन थियो। पर्यटक भिसामा आएका राई भिसा सकिएपछि पनि बिनाभिसा बस्न थाले।
कामका सुरुवाती दिनमा उनले भोगेका पीडा कहालीलाग्दो छ।
‘सुरुमा तलब पाइनँ, कुटपिटनमा परेँ, गरिब देशबाट आएको भनी कोरियन सहकर्मी र साहुको हेपाइमा परेँ,’ उनी सुनाउँछन्।
विदेशी श्रमिक भएकै कारण अन्याय भोग्नुपरेको राईको अनुभव छ।
त्यतिबेला प्रवासी श्रमिकले कोरियन मजदुरको भन्दा बढी खट्नुपर्दथ्यो। तर, सेवा सुविधा उनीहरूको भन्दा निकै कम हुन्थ्यो।
त्यसपछि उनलाई लाग्यो, ‘प्रवासी मजदुरको अधिकारका लागि आवाज उठाउनुपर्छ।’
उनी प्रवासी श्रमिकको अधिकारका लागि पहल गर्न थाले।
तर, व्यक्तिगत पहलले केही जोर चलेन।
न कम्पनीमा हुने शोषण, दमनमा कमी आयो न समाजले प्रवासी श्रमिकलाई गर्ने व्यवहारमा परिवर्तन आयो।
तैपनि, प्रवासी मजदुरको पक्षमा दृढ भएर लड्ने उनको अठोट कायम रह्यो।
त्यतिबेला प्रवासी मजदुरको पक्षमा बोल्ने माध्यम बन्यो कोरियाको प्रजातान्त्रिक मजदुर संगठन (केसीटियु)।
राई सोही संस्था अन्तर्गत गठन भएको समानता मजदुर युनियन प्रवासी मजदुर शाखामा सदस्य भई गतिविधि गर्न सुरु गरे।
सन २००९ मा एमटियु सउल साखाको नेतृत्व सम्हालेका राईले सन् २०१४ देखि एमटियुको नेतृत्व सम्हाल्दै आएका छन्।
डब्लुपिएस लागू गराउन उनी अहिले पनि संघर्षरत छन्। डब्लुपिएसमा इपियस प्रणालीमा जस्तो साहु केन्द्रित अधिकार नहुने उनको तर्क छ।
कोरियामा प्रवासी श्रमिकहरूको संख्या वर्षेनी बढिरहेको छ। श्रमिकहरू शोषणको सिकार भइरहेका छन्।
त्यसकारण आफू निरन्तर श्रमिक अधिकारका पक्षमै लडिरहने संकल्प गरेको उनले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।