काठमाडौं- आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्स पराजित भएको छ। दिल्लीलाई बिहीबार राति भएको खेलमा मुम्बई इन्डियन्सले ४० रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा १ सय ६८ रन जोड्यो। उसका लागि हार्दिक पाण्ड्याले नटआउट ३७ रन र क्वान्टन डे ककले ३५ रन जोडे। बलिङमा दिल्लीका कागिसो राबाडाले २ विकेट लिए। खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले मौका पाएनन्। दिल्लीले सन्दीपको स्थानमा किमो पाउललाई लगातार खेलाइरहेको छ।
१ सय ६९ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन मात्र जोड्यो। उसका लागि शिखर धवनले सबैभन्दा बढी ३५ रन जोडे। बलिङमा मुम्बईका राहुल चाहर ३ र जसप्रित बुमराहले २ विकेट लिए।
अंक तालिकामा मुम्बई ९ खेलबाट १२ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। दिल्ली ९ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।