नेपालगन्ज- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।
प्रदेश नम्बर ५ मा भइरहेको खेलकुद प्रतियोगिता नेपालगञ्ज रङ्गशालामा आज साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन्।
उद्घाटन समारोहमा ७ प्रदेश, ३ विभागीय र एनआरएनका खेलाडीको मार्चपास गरेका थिए। यस्तै सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिएको छ। कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर विस, प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलको सहभागिता थियो।
सांसद तथा गायिक कोमल वलीले आठौं खेलकुदको विषयमा तयार पारेको गीत प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा विभिन्न स्कुलका विद्यार्थीले गित प्रस्तुत गरेका थिए। साथै आताशवाजी समेत गरिएको थियो। अन्त्यमा ओलम्पियन सुरेन्द्र हमालले दिप प्रज्वलन गरेका थिए। सातै प्रदेशको परिक्रमा गरेर ल्याइएको ओलम्पिक टर्चलाई अन्त्यमा हमालले प्रज्वलन गरेका हुन्।
प्रतियोगिताका खेल भने यही चैत २७ गतेदेखि शुरु भएको थियो। समापान वैशाख ११ गते नेपालगन्ज रंगशालामै हुने कार्यक्रम छ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीको सहभागिता छ।
प्रतियोगितामा ३५ खेलमा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन्। प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।













नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।