काठमाडौँ – अमेरिकी विश्वविद्यालयहरुमा भर्ना हुनेमा नेपाली विद्यार्थीको संख्या क्रमशः बढेको देखिएको छ।
सन् २०१७ को ओपन डोर्स प्रतिवेदनका अनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयहरुमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ।
इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोद्वारा वार्षिक रूपमा प्रकाशित हुने सो प्रतिवेदनले संयुक्त राज्य अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीसँग सम्बन्धित प्रवृत्तिको अनुगमन गर्ने गर्छ।
अमेरिकी उच्च शिक्षा संस्थामा नेपाली विद्यार्थीको भर्ना दर २० प्रतिशतले वृद्धि भई कुल संख्या ११ हजार ६०७ पुगेको छ। स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने शीर्ष २५ मुलुकमध्ये नेपाल १२ औँ स्थानमा छ । स्नातक तहमा अध्ययनरतमध्ये ४२ दशमलव २ प्रतिशत नेपाली विद्यार्थी छन् जुन २५ देशमध्येकै सबैभन्दा उच्च वृद्धि हो । अमेरिकामा हाल १० लाख ८० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन्।
हरेक वर्ष शैक्षिक तथा व्यावसायिक विकासका लागि उपलब्ध अवसरको लाभ लिन हजारौँ नेपाली विद्यार्थी अमेरिका जाने गरेको नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत माइकल गोन्जालेसले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।