काठमाडौं- भूकम्प गएको ३१ महिना बित्दासमेत पशुपति क्षेत्रमा भत्किएका ६४ वटा ऐतिहासिक स्थलमध्ये एउटाको मात्र पुनःनिर्माण भएको छ।
भूकम्पले पशुपति क्षेत्रका मन्दिरमा आंशिक मात्र क्षति पुगे पनि सत्तल भने पूर्णरुपमा भत्किएका थिए। भत्किएकामध्ये हालसम्म लालगणेश मन्दिरको मात्र पुनःनिर्माण सम्पन्न भएको छ। भट्टहरुको आवास मर्मत पनि पूरा भएको छ।
बाँकी ६३ वटा सम्पदा पुनःनिर्माणको प्रक्रियामा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषमा प्राविधिक जनशक्तिको कमी रहेकाले पुनःनिर्माणमा ढिलाइ भएको हो।
पाँच वर्षमा पशुपति क्षेत्रका पुरातात्विक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक दृष्टिले महत्व बोकेका सम्पदा पुनःनिर्माण गर्न दुई अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
भूकम्पपछि गत आर्थिक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा पुनर्निर्माणका लागि २५ करोड रुपैयाँ निकासा गरेको थियो। तर, कोषले बजेटको २० प्रतिशत मात्र खर्च गर्न सक्दा बाँकी रकम फ्रिज भएको थियो। गत वर्ष कोषले चार करोड २५ लाख रुपैयाँ बराबरको पुनःनिर्माण सम्पन्न गरेको निर्देशक भरत मरासिनीले बताए।
'चालू आर्थिक वर्षमा २० करोड ७५ लाख रुपैयाँको ठेक्का भई काम सुरु भएको छ', उनले भने।
भूकम्पले भत्किएका ६४ सम्पदामध्ये कोषले पाँच वटा सम्पदा पुनःनिर्माणको जिम्मेवारी दातालाई दिएको छ। गौरीघाट शिवालय र गौरीघाट चौघेरा सत्तल, बज्रेश्वरी सत्तल, जयवागेश्वरी मन्दिर रु र महास्नानघरको जिम्मेवारी दिइएको हो।
भत्किएका सम्पदामध्ये हालसम्म आठ करोड ५० लाख रुपैयाँको लागतमा दातालाई बनाउने अनुमति दिइएको छ।
प्राधिकरणले दिएको बजेटबाट पुनर्निर्माण थालिएका सम्पदामा चन्दनपाटी (घ्याम्पे सत्तल) को काम ८० प्रतिशत, शंकराचार्य मन्दिर ६०, कुलानन्द झा सत्तल ८०, वनकाली सत्तल ८० र अमरकान्तेश्वर मन्दिर ४० प्रतिशत सम्पन्न भएको कोषले जनाएको छ।
सुरेशकान्तेश्वर मन्दिर, गुह्येश्वरी चौघेरा सत्तल पश्चिम खण्ड, ताराप्रकाशेश्वर मन्दिर र कोटीलिंगेश्वर मन्दिरको काम सुरु भएको निर्देशक मरासिनीले बताए।
पुनर्निर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटा पशुपति क्षेत्रमा भत्किएका सम्पदामध्ये हालसम्म लालगणेश मन्दिर र भष्मेश्वर सत्तल मात्र सम्पन्न भएको प्रतिवेदन प्राप्त भएको स्विकार्छन्।
अन्य ठाउँका सम्पदा पुनःनिर्माणमा प्रगति भएको देखिए पनि पशुपति क्षेत्रकै सम्पदा पुनःनिर्माणमा ढिलाइ भएपछि प्राधिकरणले निर्माण छिटो सम्पन्न गराउने उद्देश्यले यसै साता छलफल गर्ने भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।