काठमाडौं- स्कुल पढ्दा वेनिशा हमालको चाहना थियो- कि डाक्टर बन्ने कि वैज्ञानिक। एसएलसीपछि उनको चाहना फेरियो। लागिन्, आमसञ्चार पढ्न। आमसञ्चार पढेकी उनी कालिका एफएमकी आरजे हुँदै च्यानल नेपालमा भिजे भइन्। टिभीमा उनी फिल्म सम्बन्धी कार्यक्रम चलाउन थालिन्।
भिजेको काम गर्दागर्दै उनी मोइलिङतिर डोहोरिइन्। तर त्यो उनको सोख मात्र थियो, खास सिरियस थिइनन्।
'भिजे भएकाले प्रशन्न पौडेलले मलाई मार्क गर्नुभएको रहेछ। उहाँले कन्भिन्ड गर्नुभयो। मोडल वा अभिनेत्री हुने मेरो कुनै चाहना थिएन,' उनी सुरुवाती करिअरबारे भन्छिन्, 'म नयाँ अनुभव हुन्छ भनेर ख्याल ख्यालमा म्युजिक भिडियो गर्न सुरू गरेकी थिएँ।'
पहिलो फिल्म ’स्वर’ पनि उनले ख्यालख्यालमै गरिन्। उनलाई लागेको रहेछ, यो नै पहिलो र अन्तिम हुनेछ।
तर, यो अन्तिम होइन फिल्मी यात्राको सुरुवाती विन्दु बनिदियो।

हिरोइन हुनु वेनिशालाई सजिलो काम लाग्थ्यो किनकि उनीसँग आकर्षक लुक्स थियो, हाइट थियो र नाच्न सक्ने खुबी। यी मापदण्ड नेपाली फिल्ममा हिरोइन बन्न पर्याप्त थिए।
’पहिलो फिल्म गर्दासम्म चाहिने चिज सबै छ, गरिहाल्छु भन्ने सोच थियो। त्यसमाथि मलाई यो मौका पनि सजिलै प्राप्त भएको थियो,' उनी सहजै भन्छिन्, 'मैले कुनै संघर्ष नै गर्नुपरेको थिएन। जसरी म्युजिक भिडियोको प्रस्ताव आयो। फिल्ममा काम गर्न पनि गाह्रो भएन।’
तर फिल्मी उद्योगमा छिरेपछि उनले थाहा पाइन्, यो कच्चा खेल होइन। अभिनेत्री हुनु त ज्यादै कठिन काम रहेछ। 'संघर्ष, विभिन्न मानिससँगको नेटवर्क अनि आफूभित्र क्षमता नभई नहुने,' उनी भन्छिन्।
'कालो पोथी'ले जीवन सिकायो
पहिलो फिल्मपछि नै उनले दुई-तीन वटा फिल्ममा उनले सहजै काम पाइन्। त्यसमै फुरूङ्ग बन्दै आएकी वेनिशालाई जब ’कालो पोथी’को स्क्रिप्ट आइलाग्यो तब उनले अभिनय के हो भनेर बुझ्न पाइन्।
’मलाई मीन भामले समीक्षाको लागि मात्र स्क्रिप्ट दिनुभएको थियो। म फिल्ममा हुन्छु हुँदिन भन्ने थाहा थिएन,' कालो पोथीको इन्ट्री कथाबारे उनले सुनाइन्, 'स्क्रिप्ट पढेपछि मलाई सानो मात्र भए पनि रोल पाए हुन्थ्यो भन्ने लोभ जाग्यो। पछि छानिएँ, त्यसपछि त हिरोइन र अभिनयप्रतिको बुझाइ पूरै परिवर्तन भयो।’
कालो पोथीले वेनिशालाई फिल्ममा मेहनत कसरी गर्ने र अभिनय के हो भन्ने सिकाइदियो। यसअघि उनले जे गरिरहेकी थिइन्, त्यो केही होइन रहेछ भन्ने बनायो। उनले नाच्न जान्नु, फिगर मेन्टेन गर्न जिम जानुमात्र अभिनेत्री बन्न चाहिने कुरा होइन रहेछ भन्ने सिकिन्। कामप्रतिको लगाव र 'पागलपन'बारे पनि थेरै बुझ्न पाएको उनी बताउँछिन्।
’कालो पोथीमा लागेपछि मेले आफूलाई अरूजस्तै पाएँ। म जस्तो अभिनय गर्ने त थुप्रै छन्। मलाई केही गर्नुछ भने मैले फरक नगरी हुन्न भन्ने बुझेँ,' उनले भनिन्। ’कालो पोथीले’ त अभिनय र कलाकारिता मात्र होइन जीवनबारे बुझाएको उनी बताउँछिन्।
’मलाई जीवन सरल र सजिलो लाग्थ्यो। मुगुमा पुगेको चार-पाँच दिन मलाई एडजस्ट हुनै लाग्यो। होमसिक भयो, बेलुका न बेलुका म रोएँ पनि,' उनले सुटिङको समय सम्झिइन्, 'मसँग पैसा थियो तर मुगुको दुर्गममा खर्च गर्ने ठाउँ थिएन। बाटो थियो तर गाडी थिएन। बिरामी भएँ, उपचार गर्न नजिक अस्पताल थिएन।’ उनले त्यसबेला महसुस गरिन्- म त घरपरिवारको संसारबाट बाहिर निस्केकै रहेनछु।
दुर्गम मुगुका नागरिकले कसरी कष्टप्रद जीवन बिताइरहेका छन् भनेर उनले प्रत्यक्ष देख्न भोग्न पाइन्। फिल्मको कथावस्तु सँगसँगै उनी जीवनको जटिलता बुझ्नै गइन्।

कालो पोथीपछि पाएका स्क्रिप्टमा उनले आफूमा नै चुनौतीहरू खोज्न थालिन्। नाच्ने गाउने भूमिकाका फिल्मभन्दा अरू केहि बढी गर्ने ठाउँ स्क्रिप्टमा उनको ध्यान जान थाल्यो।
’म पहिला स्क्रिप्टमा स्पेस खोज्थेँ। त्यसपछि म चुनौती खोज्न थालेँ। निर्वाह गर्ने चरित्रबाट कतिको एक्सपोजर पाउँछु, त्यो हेर्न थाले,’ कालो पोथीपछि नै उनी चुजी बन्न थालिसकेकी थिइन्।
वेनिशाको अनुभवमा हिरोइन हुनु सजिलो काम होइन तर एउटा कुशल अभिनेत्री हुनुचाहिँ हिरोइन हुनुभन्दा कठिन काम हो।
सृष्टि केसीको बायोपिक फिल्ममा छनोट हुँदा धेरैले निर्देशकको च्वाइसप्रति शंका व्यक्त गरेका थिए। ’झ्यानाकुटी’को मालती खड्का विष्टको लागि छानिँदा फिल्मका मेकरलाई धेरैले ’वेनिशा लिएको’ भनेर प्रश्न पनि गरे।
’यहाँ एउटा भूमिकामा आइयो भने अर्को शैलीमा स्वीकार्न धेरैलाई गाह्रो पर्ने रहेछ। एउटी प्रिटी फेस र नाच्ने हिरोइनको आयु धेरै लामो हुँदैन। यो मैले बुझिसकेको छु,' उनमा आत्मविश्वास छ, 'यसैले म आफूलाई हिरोइनको सानो घेराभन्दा पनि कलाकारको ठूलो चौघेरामा पुर्याउन चाहन्छु।'
उनको बुझाइमा, हिरोइनको आयु चाँडै सकिन्छ तर कलाकार लामो समय बाँच्छ। 'किनकि चरित्रको कुनै एक्सपायरी डेट हुँदैन। म लामो तर कठिन बाटो हिँड्न चाहन्छु, पछिल्ला सिनेमाले मेरो बाटो तय गरिसकेका छन्,' उनी ढुक्क छिन्।
हिरोइनको परिभाषामा आधारित भएर फिल्ममा आउनुभन्दा कलाकारको परिभाषा अनुसार आउन सल्लाह दिन्छिन् उनी। हिरोइन बन्नका लागि मात्र आउँदा दुई-तीन वटा फिल्मपछि हराएका कलाकार उनले देखिसकेकी छिन्।
नेपाली फिल्ममा हिरोइन हुनुका फाइदा र बेफाइदाबारे पनि उनी बल्ल बुझ्दैछिन्। ’कस्तो फेज र संघर्षबाट गइरहेको छ वा आइरहेको छ भन्नेबारे कसैलाई चासै छैन। देखिने हिरोइनको रुपलाई मात्र धेरैले नियालिरहेका हुँदा रहेछन्,' उनी भन्छिन्, 'अनावश्यक मूल्याकंन गर्ने प्रवृत्ति पनि निकै छ यहाँ।'
त्यसै त हिरोइन भएकै कारण उनले धेरै ठाउँ सम्मान र फ्यानहरुको माया पनि पाएकी छिन्। 'काठमाडौंमा आफ्नो महत्व खास फिल हुँदैन जब एउटा कलाकार काठमाडौंबाहिर वा विदेश जान्छ तब दर्शहरूले दिने सम्मानले आफ्नो महत्व फिल गराउँछ,' उनले तितो यथार्थ चुहाइहालिन्, 'फिल्म उद्योगमा समान काम समान पारिश्रमिक नपाए पनि दर्शकबाट समान सम्मानचाँहि पाइन्छ।'
दुई वर्षयता आफूमा आएको परिवर्तनले उनमा खुसी र ऊर्जा सँगसँगै दिएको छ। आफूले गरेका कुन चाहिँ भूमिका उत्कृष्ट छ भनेर कसैले सोध्दा उनीसँग जवाफ थिएन। तर अहिले उनी आफै उत्कृष्ट भूमिकाका लागि तयार छिन्।
’झ्यानाकुटी’को ट्रेलर रिलिजबाट पाइरहेको प्रतिक्रियाले पनि उनी अहिले निकै खुसी छिन्। यो फिल्मबाट उनी थप आशावादी पनि छिन्।

'लोग्ने-स्वास्नीको सम्बन्धको कथा भन्ने फिल्म कमेडी शैलीको छ तर यसले देखाउन खोजेको सम्बन्धको कथा उत्तिकै गम्भीर छ,' उनी भन्छिन्, 'दुईबीचको झगडालाई परालको आगोको रुपमा फिल्मले प्रस्तुत गरेको छ।'
फिल्ममा उनी २० वर्षको उमेरमा बिहे गरेकी एक आमाको भूमिकामा छिन्। यो रोलका लागि उनले अडिसन पार गर्नुपरेको थियो। फिल्मबाट निर्मात्री बनेकी निशा अधिकारीले उनलाई अडिसन लिएपछि मात्र ओके गरिन्।
अहिले फिल्म हेर्दा वेनिशा आफ्नो कामबाट सन्तुष्ट छिन्। फिल्म गरिरहँदा कतिपय अवस्थाम आफ्नो काममा निर्देशक सिमोस सुनुवारले ओके भन्दा पनि आफूलाई चित्त नबुझेपछि फेरि टेक लिएको उनले सुनाइन्।
चुजी बनेकी वेनिशा आगामी दिनमा अर्थपूर्ण र फरक चरित्रका फिल्ममा काम गर्ने योजनामा छिन्। भन्छिन्, ’तर म चाहन्न, पैसाका लागि फिल्म गरूँ।'
पैसा कमाउनका लागि त उनले व्यवसाय नै सुरु गरिसकेकी छिन्। सिनामंगलमा साथीसँगको सहकार्यमा ’लाला’ नामक क्याफे सञ्चालनमै आएको तीन महिना भइसक्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।