चरिकोट – न्यानो कपडा बोकेर विक्रीका लागि बजार चहार्दै गर्दा कालिकोट जिल्ला तिलागुभा नगरपालिका–१ का ३५ वर्षीय वीरबहादुर बुढा सदरमुकाम चरिकोटमा भेटिए।
तपार्इंले बोकेको केहो ? उनले जवाफ दिए –‘यो झिल्के हो।’ मूल्य सोध्दा २५०० पर्छ भन्दै गफिन खाजे। कालिकोटबाटै आएका उनका दाजु नरिलाल बुढा र काकासहित परिवारका चारजना जाँडोको समयमा आवश्यक पर्ने सामान बिक्रीका लागि गाउँ र टोलमा घुमीरहेको बुढाले बताए।
‘हामी दोलखा आएको धेरै भयो, पैसा कमाइन्छ की भनेर हामीले पनि सामान किनेर बेच्न ल्याएका हौँ तर खासै बिक्री भएको छैन।’ उनले भने।
‘हामी सामान्य होटलमा बसेका छौं। १० दिनको १००० रुपैयाँ तिर्छौ’ उनले भने, ‘व्यापार भए चुनावमा घर गई भोट हाल्ने रहर पनि छ तर सामान थुप्रै मात्रामा बिक्री हुन बाँकी छ । गाउँ नजाने भइयो।’ उनलाई जिल्लामा निर्वाचनमा कोको उठेका छन् भन्ने पनि थाहा छ।
‘भोट हालेर के हुन्छ र?’ उनले भने, ‘यो पटक गाडी भाडा नै नहुने भएपछि भोट हाल्न नजाने।’
यहाँ हरेक वर्ष कपडाका सामग्री बोकेर जुम्ला, कालिकोट लगायतका व्यापारी यहाँ आउछन्। उनी जस्तै कालिकोटकै अर्का व्यापारी लक्ष्मी अधिकारी भन्छन्, ‘हाम्रो परिवार चुनावले पालिदैन, हामो जीविका पनि छ, नेतालाई भोटको चिन्ता, हामी गरिबलाई नोटको चिन्ता, त्यसैले हामीलाई चुनाव भन्दा हाम्रो परिवार पाल्न सकस छ, हामी सायद भोट हाल्न कालिकोट जाँदैनौं।’
‘नेता चुनावको समयमा अनेकथरी गरिदिने आश्वासन त दिन्छन् तर निर्वाचन सकिएपछि केही पनि गर्दैनन् त्यसैले किन भोट हाल्न जानु।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।