काठमाडौं- नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण भएकाेमा उपराष्ट्रपति र प्रधानमन्त्रीले खुसी व्यक्त गरेका छन्।
उपराष्ट्रपति नन्दबहादुर पुनले एक सन्देश जारी गर्दै नेपालको पहिलो भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकोमा खुसी व्यक्त गरेका हुन्। आज बिहान नेपाली समयअनुसार २ः३१ मिनेटमा नेपालको पहिलो भू–उपग्रह (न्यानो स्याटेलाइट) ‘नेपाली स्याट–१’ अन्तरिक्षतर्फ पठाइएको थियो।
अमेरिकाको भर्जिनिया राज्यको तटस्थित नासाको वालोप्स उडान केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा सो भू–उपग्रह प्रक्षेपण गरिएको थियो।
नेपाली भू–उपग्रहको निर्माण नेपाली वैज्ञानिक आभाष मास्केसहितको टोलीले गरेको हो।
‘सानै प्रयास भए पनि अन्तरिक्षमा नेपालको सहभागीता हुनु ज्यादै खुसी र गौरवको कुरा हो,’ उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘यस अवसरमा म सबै नेपालीमा बधाई ज्ञापन गर्दछु।’

यो प्रक्षेपण पूर्ण सफल हुने आसा व्यक्त गर्दै उनले आगामी दिनमा 'मेगा स्याटेलाइट' प्रक्षेपण र थप प्रगतिको लागि नास्ट र नेपाली वैज्ञानिकहरुलाई शुभकामना समेत दिएका छन्।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल पनि स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको भन्दै खुसी व्यक्त गरेका छन्।
‘योसँगै नेपाल पनि स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ,’ ओलीले आफ्नो ट्विटर सन्देशमा भनेका छन्, ‘यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीवृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।’
आज प्रक्षेपण गरिएको भू–उपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगिसकेपछि केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ। सोपश्चात मात्रै यसले काम गर्न थाल्नेछ।
यसको सहयोगबाट नेपालले आफ्नो भू–भागको मौसम, पानी, तापक्रम आदिका बारेमा जानकारी प्राप्त गर्नसक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।