काठमाडौं- जिल्ला अदालत काठमाडौं चर्चित रियालिटी शो नेपाल आइडलको भोट गणना स्थगित गर्न आदेश दिएको छ।
भोटिङ सम्बन्धमा विवाद आएपछि अदालतले शुक्रबारसम्मका लागि भोटिङ स्थगित गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले यस्तो आदेश दिएको हो।
नेपाल आइडलमा चार जना प्रतिस्पर्धीमध्ये तीन जनाको छनोट गर्नुपर्नेमा उक्त कार्य नगरेको र सर्वसाधारणबाट संकलित भोट समेत सार्वजनिक नगरेको भन्दै अधिवक्ता ज्ञानमणि न्यौपानेले सोमबार रिट हालेका थिए।
अदालतले भदौ २३ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । उक्त छलफलपछि अदालतले दिने आदेशमा भोट सार्वजनिक गर्ने कि नगर्ने भन्ने विषय टुङ्गो लाग्नेछ।
नेपाल आइडलले गत साताको कार्यक्रममा चार प्रतिस्पर्धीमध्ये एक जना आउट गर्ने जनाए पनि कसैलाई आउट नगरी फेरि भोटिङका लागि आह्वान गर्ने घोषणा गरेको थियो । सो क्रममा दर्शकले दिएको भोट लुकाई ठगी गरिएको भन्दै सर्वसाधारणबाट समेत विरोध भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।