जनकपुरधाम– बारा र पर्सा जिल्ला आएको हावाहुरीबाट प्रभावितको लागि प्रदेश ३ सरकारका तर्फबाट एक करोड सहयोग प्रदान गरिएको छ।
मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार जनकपुर पुगेर एक करोडको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन्। पौडेलले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चेक हस्तान्तरण गरेका हुन्।
गएको चैत १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो। पाँच सयभन्दा बढी घाइते भएका थिए।
चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेशसभालाई धन्यवाद दिए। मुख्यमन्त्री पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे।
यसअघि प्रदेश ३ का मुख्यमन्त्री पौडेलले प्रभावित क्षेत्रको निरीक्षण पनि गरेका थिए।
प्रदेश ३ का सांसदहरुको तीन दिनको तलब बराबर चार लाख ६९ हजार ५० रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको छ। बैंकमा रकम जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेकी थिइन्।
मुख्यमन्त्री पौडेलसँगै उपसभामुख तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रमेश सिवाकोटी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा, प्रदेश २ का मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कोमल खत्री लगायतको उपस्थिति रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।