काठमाडौं– युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना र डच क्लब अजाक्स सेमिफाइनलमा प्रवेश गरेका छन्। बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो खेलमा विजयी हुँदै बार्सिलोना र अजाक्सले अन्तिम चारमा स्थान पक्का गरेका हुन्।
बार्सिलोनाले इंग्लिस क्लब म्याचेस्टर युनाइटेडलाई दोस्रो लेगमा ३–० ले हरायो। यसअघि पहिलो लेगमा १–० ले विजयी बार्सिलोना समग्रमा ४–० को जितसहित सेमिफाइनलमा पुग्यो।
दोस्रो लेगमा बार्सिलोनाका लागि लिओनल मेसीले १६ र २० मिनेटमा गरी २ गोल गरे। काउटिन्होले ६१ मिनेटमा अर्को गोल गरेपछि बार्सिलोनाले सहज जित हात पार्यो।
अर्को क्वार्टरफाइनलको दोस्रो लेगमा अजाक्सले इटालियन क्लब युभेन्ट्सलाई २–१ ले हरायो। पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो। दोस्रो लेगमा युभेन्ट्सलाई उसैको घरेलु मैदानमा हराएसँगै अजाक्स समग्रमा ३–२ ले विजयी हुँदै अन्तिम चारमा पुग्यो।
दोस्रो लेगमा अजाक्सका लागि भान डे विकले ३४ मिनेट र डे लिटले ६७ मिनेटमा गोल गरेका थिए। खेलमा अग्रता भने युभेन्ट्सले लिएको थियो। युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले २८ मिनेटमा गोल गरेर आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।