ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रङ्गशाला निर्माण कार्य सुरु गरिएको छ। प्रदेश सरकारको स्वीकृत कार्यक्रमबाट निर्माण गरिने रङ्गशालाको सांसद् योगेश भट्टराईले शिलान्यास गरेको हो।
मैवाखोला गाउँपालिका केन्द्र (मुकाम) साँघुमा कुल ५२ रोपनी क्षेत्रफलमा रङ्गशाला निर्माण गर्न लागिएको हो। रङ्गशाला निर्माणका लागि चालू आर्थिक वर्षमा प्रदेश १ सरकारले एक करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ।
उक्त रकमको अख्तियारी समेत आइसकेको चालू आवभित्रै रङ्गशाला निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको मैवाखोला गाउँपालिकाका गाउपालिका अध्यक्ष राजन कुमार थक्लुङ जानकारी दिए।
रङ्गशालाको अन्य संरचना निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट थप सहयोगको अपेक्षा राखिएको थक्लुङले बताए।
प्रदेश सरकारबाट प्राप्त बजेटको अख्तियारीअनुसार निर्माण हुने संरचनामा गाउँपालिकाले थप कार्य गर्ने थक्लुङको भनाइ छ।
प्रदेश तथा सङ्घीय सरकारबाट रङ्गशालाको स्तरोन्नति सहितका कार्यमा थप रकम पाउने गाउँपालिकाले अपेक्षा राखेको पनि उनको भनाइ छ।
निर्माण कार्य सुरु गरिएको रङ्गशालाको जग्गा नौ रोपनी निःशुल्क प्राप्त भएको र बाँकी ४३ रोपनी ३७ लाख ७५ हजार रुपियाँ खर्चिएर अधिग्रहण गरिएको मैवाखोला गाउँपालिका कार्यालयले जनाएको छ।
जननेता मदन भण्डारीको जन्मस्थल भएकाले रङ्गशालाको नाम ‘मदन भण्डारी स्मृति रङ्गशाला’ राख्ने निर्णय भएको पनि कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।