काठमाडौं– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १६ औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ । प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए ।
एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्कोरअन्तरका आधारमा आर्मी अगाडि रह्यो । आर्मीबाट पुरुषमा जंगबहादुर सारु, पवन श्रेष्ठ र शिव बराम तथा महिलामा सुमित्रा राई, निर्मला घर्ती मगर र पुनम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा सन्जित डंगोल, श्रीराम मकाजु र रविन श्रेष्ठ तथा महिलामा मनीता श्रेष्ठ प्रधान, भावना घर्ती मगर र निशा चौधरीले खेलेका थिए ।
१५ स्वर्णका लागि भएको प्रतिस्पर्धामा आर्मीले ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो। दोश्रो भएको आर्मीले ६ स्वर्ण, ४ रजत ४ कांस्य हात पार्यो। १ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ प्रदेश ५ तेश्रो भयो । बाँकी १ स्वर्ण एपीएफले हात पार्यो। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे।
बास्केटबल : प्र देश ३ दोहोरो उपाधिनजिक
आठौंअन्तर्गत राष्ट्रिय बास्केटबको पुरुष/महिला दुवैमा प्रदेश ३ फाइनलमा प्रवेश गरेको छ।
दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित गर्यो । प्रदेश ३ को जितमा विनोद श्रेष्ठले २० अंक योगदान गरे। फाइनलमा प्रदेश ३ को भेट आर्मीसंग हुनेछ। अर्को सेमिफाइनलमा आयुश सिंहको १९ अंक सहयोगमा आर्मीले नेपाल प्रहरीलाई ८५–७१ ले हरायो।
महिलामा प्रदेश ३ ले आर्मीमाथि ३९–२३ को जित दर्ता गर्यो। प्रदेश ३ की एलिना गुरुङले ९ अंक जोडिन्। उपाधिका लागि प्रदेश ३ ले प्रहरीसंग भिड्ने छ। प्रहरीले सुदूरपश्चिमलाई ५५–४४ ले पाखा लगायो। प्रतियोगिता बुधबार सम्पन्न हुनेछ।
कबड्डी : आर्मी र प्रदेश ५ भिड्ने
आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी र प्रदेश ५ उपाधिका लागि भिड्ने भएका छन्। बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको सेमिफाइनलमा आर्मीले गण्डकीलाई ३८–२१ तथा प्रदेश ५ ले एपीएफलाई ३५–२८ ले पराजित गरे।
महिलामा आर्मी र प्रहरी फाइनलमा पुगे। आर्मीले सुदूरपश्चिम प्रदेशलाई ४९–१७ तथा प्रहरीले प्रदेश ५ लाई ३४–२४ ले हराए। फाइनल बुधबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।