काठमाडौं– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १६ औं राष्ट्रिय जुडोको पहिलो दिन प्रहरीकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन्।
महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन्। प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए।
महिला ४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउदै पहिलो भइन्। प्रदेश ५ की सारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेश्रो भए। ७० केजीमुनि प्रहरीकी निशा चौधरी पहिलो भइन्। फाइनलमा निशाले आर्मीकी विनिता मगर खत्रीको चुनौती पन्छाइन्। प्रदेश ३ की रञ्जना खड्का तथा आर्मीकी रचना श्रेष्ठ संयुक्त रुपमा तेश्रो बने।
पुरुष ६० केजीमुनि प्रहरीका उमेर मगरले बाजी मारे। उनले फाइनलमा आर्मीका कर्मा तामाङलाई पन्छाए। एनआरएनका मोहन बम तथा प्रहरीका सुदेश दोङले तेश्रो स्थानमा चित्त बुझाए। ६६ केजीमुनि फाइनलमा प्रहरीका इन्द्रबहादुर श्रेष्ठले प्रदेश ३ का सुनील नगरकोटीमाथि जित दर्ता गर्दै स्वर्ण जिते। एपीएफका निर्दोष चलाउने तेश्रोमा सीमित भए।
पुरुष ८१ केजीमुनि आर्मीका पवनकुमरा श्रेष्ठ तथा १०० केजीमाथि प्रहरीका राजन जोशीले पहिलो स्थान कब्जा गरे। फाइनलमा पवनले प्ररहीका मनीष महतो तथा राजनले प्रणितसिंह ठकुरीलाई पाखा लगाए। ८१ केजीमा एपीएफका लेलिन डंगोल र प्रदेश २ का गुड्डुकुमार सकानु तथा १०० केजीमाथि सुदूरपश्चिम प्रदेशका आशिष ओझा तेश्रो स्थानमा रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।