काठमाडौं– आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सको उत्कृष्ट प्रदर्शन जारी छ। चेन्नईले आइतबार भएको खेलमा कोलकाता नाइटराइडर्सलाई ५ विकेटले हरायो।
पहिले ब्याटिङ गरेको कोलकाताले ८ विकेटको क्षतिमा १ सय ६१ रन जोड्यो। कोलकाताका लागि क्रिस लियोनले ८२ रन जोडे। उनले ५१ बलमा ७ चौका र ६ छक्का हिर्काए। नितिश रानाले २१ रन जोडे भने कप्तान कार्तिकले १८ रन बटुले। आन्द्रे रसेलले १० रन भन्दा बढी जोड्न सकेनन्। बलिङमा चेन्नईका इमरान ताहिरले ४ विकेट लिए। सार्दुल ठाकुरले २ विकेट हात पारे।
१ सय ६२ रनको लक्ष्य चेन्नईले २ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्यो। चेन्नईका लागि सुरेश रैनाले नटआउट ५८ रन जोडे। उनले ४२ बलमा ७ चौका र १ छक्का हिर्काए। रविन्द्र जडेजाले १७ बलमा नटआउट ३१ रन जोड्दा चेन्नईले सहज रुपमा लक्ष्य पार गरेको थियो। बलिङमा कोलकाताका सुनील नारिन र पियुस चावलाले २–२ विकेट लिए।
लिगमा चेन्नई ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको कोलकाताको ८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।