काठमाडौं- सरकारले दशैंका लागि लामो तथा मझौला दुरीको यात्राका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। भदौ २२ गते बिहीबारदेखि अग्रिम बुकिङ खुला गरिएको हो।
बुकिङ खुला गरिएसँगै काठमाडौं उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागितामा सहायता कक्ष सञ्चालन गरिने भएको हो।
उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल र बल्खुमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएका छन्।
ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुको सुविधाका लागि ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजका प्रतिनिधि रहने गरी सहायता कक्ष स्थापना गर्न लागिएको जानकारी दिए।
'यात्रुहरु सहज रुपमा घर जानका लागि यात्रु सहायता कक्ष स्थापना गरेका हौं', प्रमुख खनालले भने।
उनले बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नपुर्याई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायत काम गरेमा कारबाही गरिने बताए ।
यातायात व्यवसायीले भने सामान लैजानका लागि छतको व्यवस्था हुनुपर्ने र सवारीसाधन गुड्नका लागि बाटो राम्रो बनाउन सरकारलाई आग्रह गर्दै आएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला चाडबाडमा घर जाने यात्रुको सामान धेरै हुने र राख्ने ठाउँ नहुँदा यातायात सञ्चालन गर्न समस्या हुने बताउँछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।