काठमाडौँ- नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिका सदस्य धनराज गुरुङले दोषी भएको प्रमाण पुगे पार्टीका शीर्ष नेतालाई पनि कारबाही गरिने बताएका छन्।
पद र कदका आधारमा अनुशासन समितिले भेदभाव नगर्ने स्पष्ट पार्दै उनले प्रमाण नै कारबाहीको मुख्य आधार हुने जानकारी दिए।
नेपाली काँग्रेस पाल्पा-काठमाडौ सम्पर्क समितिद्वारा प्रकाशित विक्रम संवत् २०७६ को भित्तेपात्रोको सार्वजनिकीकरण तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा उनले कसैको मुख हेरेर नभई प्रमाण हेरेर निर्णय गर्ने बताएका हुन्।
काँग्रेसलाई बलियो बनाउन दोषी र अन्तर्घातीलाई कारबाही गर्नै पर्ने बताउँदै गुरुङले गल्तीलाई गल्ती भन्न नसक्नेलाई दासको संज्ञा दिए।
अनुशासन समिति न्यायिक समिति भएकाले जस्लाई पायो त्यसैलाई अनुशासनको डन्डी नचलाउने समेत स्पष्ट पारे। नेता गुरुङले भने, 'त्यसो भन्दैमा यो समितिले केही गर्न नसक्ने भन्ने पनि होईन।'
उनले पार्टीमा कहिलेकहिले समूह बन्नु स्वभाविक प्रक्रिया भएपनि आफ्नो समूहको कमीकमजोरी औंल्याउन नसक्ने चाकरीकर्ताकै कारण पार्टी गलत बाढोमा गएको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज ल्याउने कुरा नेपालको हितमा भन्दा पनि भारतको चाहनाअनुसार गरेको उनको दावी छ।
नागरिकता सम्बन्धी विधेयक राष्ट्रघाती भएको बताउँदै नेता गुरुङले नागरिकता विधेयकको मस्यौदा विदेशीले बनाइदिएको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।