काठमाडौं- नेपाली फिल्मको मूल चरित्र भनेको बजार निर्देशित हुनु हो। नेपाली फिल्म उद्योग सधैं सुरक्षित बाटो हिँड्न रूचाउँछ। एउटा शैलीको फिल्म चल्यो भने लगभग पूरै उद्योग बजारले अस्वीकृत नगरेसम्म त्यसको दोहनमा लागिरहन्छ। 'लुट' फिल्म यताका सेनिमामा भने विभिन्न खाले कथा भन्ने शैलीमा थोरै भए पनि परीक्षण हुँदै आएको छ। तर, यो प्रयास नगन्य मात्रामा हुनेगर्छ।
'शुक्रबार' रिलिज भएको साम्तेन भुटिया निर्देशत 'तान्द्रो' पनि त्यस्तै फिल्म हो। फिल्मले द्वन्द्वकालीन माओवादी कार्यकर्ताको कथा भन्छ। माओवादी कार्यकर्ता गंगाबहादुर लामा पार्टीको कामको सिलसिलामा २०६० सालमा लमजुङमा तात्कालीन शाही सेनाको गोली लागी घाइते बन्छण्। सेनाको कारबाहीका कारण साथीहरूको भागाभाग भएपछि ९६ घन्टासम्म गंगाबहादुरले बिताएको कठिन समयको कथा फिल्ममा छ। फिल्म मुख्यत: उनी लिखित 'स्मृतिका डोबहरू' किताबमा आधारित छ।
फिल्मले माओवादी कार्यकर्ताको कथा भने पनि माओवादी युद्धको गरिमा गान गाएको छैन। यो त अप्ठ्यारो परिस्थितमा परेको एक व्यक्तिको कथा हो। तत्कालीन समयमा ऊभित्र चलेको द्वन्द्व र विकास भएको मनोविज्ञानलाई फिल्मले आफ्नो खुराक बनाएको छ।
फिल्ममा उनको भूमिका कमरेड 'कोशिश' बनेर दयाहाङ राईले निर्बाह गरेका छन्। चलिआएका फर्मुला शैली भन्दा अलगथलग फिल्मले करिब एक सय १० मिनेटसम्मै दर्शकलाई कोशिशको जीवन संघर्ष देखाउँछ।
दयाहाङले गंगाबहादुर लामाको चरित्रमाथि न्याय गरेका छन् भने बुद्धि तामाङको काम पनि फिल्ममा राम्रो छ। त्यस्तै, अन्य कलाकारले पनि आफ्नो चिरत्रमाथि भरपूर मिहिनेत गरेका छन्। विशेषगरी बालकलाकारको अभिनयले दर्शकको मन जित्छ। यस्तै, स्थानीय वृद्धको माओवादीप्रति 'होस्टाइल' व्यवहार आदि कुराले फिल्ममा आकर्षण थपेको छ।
अभिनयपछि फिल्मको क्यामेराको काम पनि राम्रो छ। पुरूषोत्तम प्रधान यसका लागि प्रशंसाका हकदार छन्। उनले मुख्य पात्र र उसका घटनाको मनोविज्ञानलाई पस्किएका छन्। साम्तेनले पुरूषोत्तमलाई अलि भिन्न शैलीमा क्यामेरा चलाउन लगाएको देखिन्छ। पार्श्व संगीतले पनि फिल्मलाई माथि उठाउने काम गरेको छ।
यद्यपि, फिल्ममा केही कमीकजोरी पनि छन्। यसमा भने साम्तेन आफैंले लेखेको पटकथा अलि 'इन्टेन्स' लाग्दैन। उनले पात्रको मनोविज्ञानलाई अझ गहिरोगरी पेस गर्ने ठाउँ फिल्ममा छ। त्यसमा साम्तेन चुकेका छन्। उनको यो चुकाइले दर्शकको नाडीलाई जसरी समात्नुपर्ने हो त्यसरी समात्न सकेको छैन्। उनको निर्देशन फिल्मको कथा अनुसार मध्यम छ। कथा भन्नमा उनले गरेको प्रयास भने फिल्म, हेरिरहँदा झल्कन्छ।
मौलिक कथामाथि बनेको फिल्मले फरक कथा र शैलीको सिनेमा खोज्ने दर्शकलाई धेरै हदसम्म आकृष्ट गर्छ। यसका लागि 'तान्द्रो' हेर्नुपर्ने फिल्म हो। 'तान्द्रो' यस वर्ष रिलिज भएका फिल्म मध्ये केही पृथक र सशक्त फिल्म हो।
त्यस्तै, दयाहाङका फिल्म उस्तै भन्ने खालका दर्शकका लागि केही हदसम्म यस सिनेमाले जवाफ दिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।