कथालाई चरित्र प्रदान गरेपछि मात्रै त्यहाँ जीवन हुन्छ। त्यो जिम्मेवारी निर्देशकको हो। तर कथावाचक निर्देशकले नै कथाको उठान र विसर्जनका आधारभूत मान्यता नअपनाउँदा पर्दामा फिल्मको कथा मर्छ।
शुक्रबार रिलिज 'रोमियो' त्यस्तै सिनेमा हो जसमा पर्दाभरि मृतकथा दौडिइरहन्छ।
रोमियो फिल्मको विद्यार्थीसँग जोडिएको कथा हो। युवराज (हसन रजा खान) वेश्यावृत्तिमाथि काम गर्ने प्रोजेक्टमा आबद्ध हुन्छ। ऊ त्यसमा चलिआएका शैलीभन्दा पनि फरक पात्रलाई आफ्नो कथा बनाउन चाहन्छ। कलेजकी सहपाठी 'सलोनी (ओसिमा बानु) लाई माया गर्छ। यस्तैमा उसको भेट नगरवधु 'बाबरी' (निशा अधिकारी) सँग हुन्छ। सलोनीसँग प्रेममा परेको युवराज बिस्तारै बाबरी बुझ्न थाल्छ, जान्न थाल्छ। जति बुझ्दै जान्छ, ऊ त्यति नै 'बाबरी'सँग नजिकिन पुग्छ। 'बाबरी' परिन् नगरवधु, ऊमाथि अरु धेरैको नजर पर्नु अस्वाभाविक होइन। देहसुख प्राप्तिका लागि सहरकै नामुद र अत्यधिक माग भएकाले उसका आफ्नै बाध्यता हुन्छन्। ऊ आफ्नो इच्छामा चल्न सक्दिन। ऊ एउटा कठपुतलीझैं अरुकै धागोमा नाचिरहन्छे। बिस्तारै उसमा विद्रोह सुरु हुन्छ।
त्यही विद्रोहले निम्त्याउने परिस्थिति नै 'रोमियो'को कथा हो।
कथाका हिसाबले एउटा फिल्मका लागि चाहिने तत्व 'रोमियो'सँग छ तर फिल्मका आधारभूत मान्यतालाई आँखा चिम्लनाले फिल्म पर्दामा जम्दैन। झन्डै २ घन्टा १० मिनेट लामो फिल्मले दर्शकको टाउको रिंग्याउँछ। आफ्नो कथाको 'एम्बियन्स' स्थापित गर्न चुकेको छ। त्यसमाथि फिल्मका कलाकारको ऊर्जाविहीन अभिनयले पर्दामा फिल्मको कथा मरेको छ। २-४ वटा फिल्म खेलिसकेका निर्मातासमेत रहेका हसनको अभिनयमा कुने जीवन छैन।
उनको अभिनय कमजोर छ। फिल्मबाट पहिलो मुस्लिम हिरोइन भएकी ओसिमा बानु पनि हसन जस्तै मिसकास्ट भएकी छन्। उनले फिल्ममा राम्रो लुगा लगाउने बाहेक अरू चरित्रमाथि न्याय गर्न सकेकी छैनन्।
'बाबरी' बनेकी निशा अधिकारी समेत फिल्ममा जम्न सकेकी छैनन्। उनको अभिनयले दर्शकको मन कुनै कोणबाट जित्दैन। कुनै पनि पात्र आफ्नो चरित्रको मनोविज्ञान पेस गर्न असफल छन्। कथा/पटकथाका लागि किरण माइकलले गरेको मेहनत खेर गएको छ।
फिल्मका तीन गीतले भने दर्शकलाई थोरबहुत सन्तुष्टि दिएका छन्। 'तिम्रो यादमा' गीतका संगीतकार कुर्वान अलि खान, 'ल्याङ ल्याङ'का सुनिल पाण्डे 'सण्डे' तथा 'बाबारी'का ताराप्रकाश लिम्बुको मेहनत ती गीतमा देखिन्छ।
प्राविधिक कोणबाट पनि फिल्म चुकेको छ। चाहे छायांकन होस् या ब्याकग्राउन्ड स्कोर। रामेश्वर कार्कीको काम गीत छायांकनमा बाहेक फिल्मका अरु दृश्यमा देखिँदैन। एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर सम्झनायोग्य छैन। सम्पादन पनि सामान्य छ।
कथा, चरित्र र प्राविधिक पक्षमा चुकेको 'रोमियो'को सबैभन्दा आलोचकीय पात्र फिल्मका निर्देशक हुन्। शंकर कार्कीको निर्देशकीय फिल्म हेर्दा उनले जान्नुपर्ने कुरा थुप्रै छन्। ओस्कारका फिल्म विद्यार्थी रहेका उनको निर्देशन क्षमताले दर्शकलाई निराश बनाएको छ।आगामी फिल्मा उनले निर्देशकको महत्वलाई बुझ्दै यी कुरामा चनाखो हुनुपर्ने देखिएको छ।
फिल्मको पहिलो हाफ पट्यारलाग्दो भए पनि दोस्रो हाफपछि केही लय समात्न खोजेझैं लाग्छ। तर कमजोर प्रस्तुति, अभिनय र निर्देशनले भरिपूर्ण फिल्म भर्खरै केही लय समात्न थालेको नेपाली फिल्म उद्योगका लागि हानिकारक हुन पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।