जनकपुर- हत्या गरेको आशंकामा महोत्तरी प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। शनिबार उनीहरुलाई महोत्तरीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। तर उनीहरुको पहिचान भने खुलाइएको छैन।
पक्राउ परेका तीनैजनालाई हाल इलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ।
महोत्तरीको सोनमा गाउपालिका-२ मा शुक्रबार एक युवतीको शव फेला परेको थियो। सो शवको अहिले सनाखत समेत भइसकेको छ।
फेला परेको सो शव गौशाला नगरपालिका-८ का श्रवन महतोकी २१ वर्षीया छोरी उषाकुमारी महतोको रहेको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ।
सोनमा गाउँपालिका-२ सिंहासनी जानेबाटोको पूर्व मरहा खोलाको किनारमा रहेको राहर खेतमा हत्या गरेको अवस्थामा शुक्रबार दिउँसो १ बजे शव फेला परेको थियो।
शवको प्रकृति हेर्दा बलात्कार पश्चात हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। यद्यपि पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको एसपी इश्वर कार्कीले बताए।
हत्याका सम्बन्धमा हाल अनुसनधान भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।