काठमाडौं– नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) को अध्यक्षमा निमबहादुर मगर विजयी भएका छन्।
नाराकोे आज सम्पन्न २९औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट ३२ मतका साथ मगर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गंगा नेपालले २६ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्षमा कमल ठकुरी, महासचिवमा शिव अधिकारी, सचिवमा भीष्मराज थपलिया, कोषाध्यक्षमा शिशिर खनाल र सहकोषाध्यक्षमा रिता अधिकारी निर्वाचित भएका छन् भने सदस्यहरुमा राजु खड्का, विष्णुहरि सिलवाल र उद्धव कँडेल विजयी भएका छन्।
कुल ७२ जना व्यवसायी मतदातामध्ये ६० मत खसेको थियो । अध्यक्षमा मगर र गंगा नेपालबीच प्रतिस्पर्धा भएको थियो।
नवनिर्वाचित अध्यक्ष मगरले नारालाई थप व्यवस्थित र व्यावसायिक ढंगले अघि बढाउने प्रतिक्रिया दिए। जलविद्युत् आयोजना निर्माण, नदी प्रदूषण आदि चुनौतीलाई सामना गर्दै र्याफ्टिङ व्यवसायलाई विश्वस्तरमा फैलाउन पहल गरिने पनि बताए।
अध्यक्ष मगरका अनुसार र्यायाफ्टिङको विश्व प्रतियोगिता नेपालमा भित्र्याउन हाल चीनसँग मात्र भएको सम्झौतालाई थप देश भूटान थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया लगायत देशसँग पनि सम्झौताको पहल गरिने छ।
नाराको ११ सदस्यीय कार्यसमितिमध्ये नौ जना निर्वाचित भएपछि अब, एक जना पूर्वअध्यक्ष पदेन सदस्य र पोखरा च्याप्टरका पदेन सदस्य चुनिनेछन् ।
साहासिक पर्यटनका रुपमा रहेको नेपालको र्ायाफ्टिङ विश्व पर्यटनको आकर्षक र उपयोगी गन्तव्य मानिन्छ । नेपालमा सानाठूला गरी छ हजार नदीनालामध्ये सरकारले १६ वटा नदीलाई र्याफ्टिङका लागि खुला गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।