काठमाडौं- स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा ३१ हजार ५ सय कर्मचारी खटिने भएका छन्। १ सय ३६ स्थानीय तहमा निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र अन्य जिम्मेवारीसहित यी कर्मचारी खटिनेछन्।
प्रदेश नम्बर २ का आठ जिल्लामा १ सय ३६ मतदान स्थल छन् । निर्वाचन आयोगले मतदानका लागि ५ सय ७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नम्बर २ को निर्वाचनबाट ६ हजार ६ सय ३७ जनप्रतिनिधि चयन हुनेछन् । आयोगले मतदानका लागि असोज २ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकेको छ।
आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्ने वातावरण तयार गर्न राजनीतिक दललाई आग्रह गरेको छ।
'निर्वाचन आचारसंहिताको पालना गर्दै निष्पक्ष ढंगले मतदान गर्ने वातावरण मिलाउन राजनीतिक दललाई ध्यानाकर्षण गराउँछु' प्रमुख निर्वाचन आयुक्त अयोधी यादवले विशेष पत्रकार सम्मेलनमा भने।
निर्वाचन आचारसंहिता पालना भए-नभएको अनुगमन गर्न आयोगले ५० सूक्ष्म अनुगमनकर्ता खटाइसकेको जनाएको छ।
निर्वाचन कार्यतालिका अनुसार दलहरुले बुधबार अपराह्न ५ बजेसम्म उम्मेदवार मनोनयन गर्नुपर्नेछ। निर्वाचन आयोगले उम्मेदवार मनोनयन शान्तिपूर्णरुपमा गर्न राजनीतिक दललाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।