सुर्खेत– पञ्चपुरी नगरपालिका सुर्खेतका ११ मध्ये तीन वटा वडामा अहिलेसम्म वडा सचिव पुगेका छैनन् । यस्तै, गुर्भाकोट नगरपालिकाका पाँच वटा वडा कार्यालय पनि सचिवविहीन छन् भने चिङ्गाड गाउँपालिकाको दुई वटा वडामा पनि सचिव नै छैनन्।
जिल्लाका स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । आम नागरिकलाई सहज सेवाको प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेका जनप्रतिनिधिले कर्मचारी र पूर्वाधार अभावमा सेवा सुधारमा कठिनाइ भएको बताएका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बाहेक अन्य स्थानीय तहका सबै वडामा सचिव पुगेका छैनन् । वडा सचिव नै नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । ‘वडा सचिवकै अभाव छ, अन्य प्राविधिक कर्मचारीहरू त झन् कहिले आउने हुन्, थाहा छैन’, चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले भने।
गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले नगरपालिकाका १४ वटा वडामध्ये पाँच वटामा सचिव नै नभएको जानकारी दिए । उनले सचिव नहुँदा प्राविधिक कर्मचारीहरूबाट काम चलाएको भए पनि समस्या भइरहेको जनाए।
भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दले नगरपालिकाका दुई वटा वडामा सचिव नभएको भन्दै अन्य कर्मचारीहरूको पनि अभाव रहेको बताए । उनले समयमै सबै कर्मचारीहरूको व्यवस्थापन गरिदिन सम्बन्धित निकायसँग माग अनुरोध गरे।
केन्द्रको निर्देशन अनुसार सबै स्थानीय तहले बजेट विनियोजन गरिसकेका छन् । अब बजेट तथा योजना कार्यान्वयन गर्नुपर्ने समयमा कर्मचारीको अभावले समस्या उत्पन्न भएको जनप्रतिनिधिहरू बताउँछन्।
प्राविधिक कर्मचारी अपुग
स्थानीय तहका कर्मचारी व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला कर्मचारी व्यवस्थापन समिति छ । तर, जिल्लामै कर्मचारी अपुग भएकाले सबै स्थानीय तहमा कर्मचारी पुर्याउन नसकिएको समितिले जनाएको छ।
जिल्ला समन्वय समिति सुर्खेतका सूचना अधिकारी टंकप्रसाद लामिछानेले प्रशासनिक कार्यका लागि समस्या नभएपनि प्राविधिक कर्मचारीहरु अपुग हुँदा स्थानीय तह सञ्चालनमा समस्या भएको बताए ।
‘एउटा गाउँपालिकाले कम्तीमा पनि दुई सय र त्योभन्दा बढी योजनाहरु पारित गरिसकेका छन्’ लामिछानेले भने, ‘त्यसलाई सञ्चालन गर्न आवश्यक पर्ने इञ्जिनियर, सब इञ्जिनियर, ओभरसियल लगायतका प्राविधिक कर्मचारीहरु अपुग हुँदा समस्या भएको हो।’
पछि थप भएका नगरपालिका र गाउँपालिकामा कर्मचारीको अभाव भएको लामिछानेले जनाए । तत्कालका लागि एउटा वडामा तीन जना र गाउँ तथा नगरपालिकाका १० जनासम्म कर्मचारी हनुपर्ने भएपनि अहिले सुर्खेतका अधिकांश स्थानीय तहमा कर्मचारी अपुग देखिएको छ।
पूर्वाधारको पनि अभाव
जनप्रतिनिधिहरुले कर्मचारी सँगसँगै भौतिक संरचना अभावमा कार्यालय व्यवस्थापनमा समेत समस्या भएको गुनासो गरेका छन् । पूर्वाधारको कमीले गर्दा कतिपय वडा कार्यालयहरू नै सञ्चालनमा आउन सकेका छैनन्।
निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दा पनि हालसम्म कार्यालय व्यवस्थापन नहुँदा जनप्रतिनिधिहरू टेबुलबाटै भए पनि सेवा दिन बाध्य भएका हुन् । पर्याप्त पूर्वाधार र जनशक्तिको व्यवस्थापन नहुँदा दैनिक प्रशासनिक काम र सेवा प्रवाहमा समस्या हुने देखिएको छ।
कर्मचारीहरू सबै नहुँदा वडाको खाता सञ्चालन समेत हुन नसकेको जनाइएको छ । नागरिकलाई स्थानीय तहको अनुभूति गराउन कम्तीमा सम्बन्धित कार्यालयमा कर्मचारीको पदपूर्ति गरी वडाबाटै सेवा दिनुपर्ने पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।