रसुवा– नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढीमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।
रसुवागढीमा दैनिक चिनियाँ पर्यटक, व्यापारी, सवारी चालक लगायत सर्वसाधारणको आवतजावत हुने गरे पनि यस क्षेत्रमा शौचालयको व्यवस्था छैन।
खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय रसुवाले विगतका वर्षदेखि नै शौचालय निर्माणको योजना बनाउँदै आए पनि कार्यान्वयनमा अघि बढ्न सकेको छैन। कार्यालयका प्रमुख रवि मोहन कोइरालाले नाकामा सार्वजनिक शौचालय बनाउने योजना भए पनि सरोकारवालाहरुले चासो नदिएको बताए।
‘हामीसँग शौचालय निर्माणका लागि कसैले समन्वय गर्न आएको छैन’, उनले भने, ‘यो वर्षको बजेट सकियो । आगामी आर्थिक वर्ष नाकामा शौचालय निर्माण गर्न पहिलो प्राथमिकतामा राखेका छौं।’
रसुवाको बेत्रावती, स्याफ्रुबेशी, चिलिमे लगायतको स्थानमा अझैपनि सार्वजनिक शौचालय छैन । जिल्लामा खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने आधा दर्जनभन्दा बढी गैरसरकारी संस्था भए पनि ती संस्था कामभन्दा तालिम र गोष्ठीमा अलमलिने गरेको सर्वसाधारण बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।