काठमाडौं– ‘अबको गन्तव्य मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११औं राष्ट्रिय दिवस मंगलबार मनाइएको छ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा सभामुख ओनसरी घर्तीले नेपाल विगतमा मानव बेचबिखनको मुख्य स्रोत रहेको र अहिले ट्रान्जिट प्वाइन्ट बनेको बताइन् । उनले यसका विरुद्ध सबै एक भएर जुट्नुपर्ने र जनचेतना अझ फैलाउनुपर्नेमा जोड दिइन्।
महिला बालबालिका मन्त्री आशा कोइरालाले विगतमा खुला सिमानाका कारण यौन शोषणका लागि बेचबिखन हुने गरेकोमा केही वर्षयता स्वरुप फेरिएको बताइन् । मन्त्री कोइरालाले भनिन्, ‘पछिल्लो समय नेपालका आन्तरिक बजार र वैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनले बेचबिखनको आयाम र स्वरुपमा जटिलता थपेको छ।’
उनले सरकारको एक्लो प्रयासले मात्र बेचबिखनको समस्या निराकरण नहुने भन्दै पीडित तथा प्रभावितलाई सम्मानपूर्वक जिउने वातावरण बनाउन सरकारका साथै समाजका अन्य पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा मन्त्रालयले बेचबिखन र ओसारपसार विरुद्धको क्षेत्रमा उत्कृष्ट काम गरेका सञ्चारकर्मीसहित ६ जनालाई पुरस्कृत तथा तीन जनालाई सम्मान गरेको थियो । कार्यक्रममा आफन्तले नै ललाइफकाइ विदेशमा बेचिन बाध्य चेलीहरुको कथालाई समेटेर शक्ति समूहले गीति नाटक प्रस्तुत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।