काठमाडौं- पूर्वमन्त्री एवं सांसद गगन थापाले विकास-निर्माणको काममा सामान्य समस्यालाई बहाना बनाएर पन्छिने निर्माण व्यवसायीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
काठमाडौं क्षेत्र नम्बर ४ को सांसद कार्यालयले कपनमा गरेको सडक निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा सांसद थापाले बहाना नबनाउन र काममा सुधार ल्याउन आग्रह गरे । उनले सडक निर्माणमा आइपर्ने कुनै पनि समस्या आफूले सम्बन्धित निकायमा पुगेर समाधान गर्ने समेत बताए।
सांसद थापाले सबैभन्दा कम मूल्यमा टेन्डर हाल्नेलाई काम गर्न दिने व्यवस्थाले निर्माण व्यवसायीहरु गैरजिम्मेवार भएको अनुभव सुनाउँदै सक्नेभन्दा थोरै मूल्यमा टेन्डर हाल्न नपाइने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
'टेन्डर हाल्ने बेलामा थोरै मूल्य राख्ने र पछि नाफा भएन भन्दै आफैंले तोकेको रकममा काम गर्न जाँगर नगर्ने प्रवृत्तिका कारण निर्माण व्यवसायीहले झुलाउने गरेका छन् । यो प्रवृत्ति अब रहनु हुँदैन', उनले भने।
सडक निर्माणसम्बन्धी सरोकारवालाहरुले भने कपन क्षेत्रमा सडक सम्बन्धी दर्जनौं योजना परेको र एकैचोटि निर्माण कार्य भइरहेकाले व्यवस्थापनमा समस्या भएको बताएका छन्।
सडक विभागका महानिर्देशक गोपाल सिग्देलले निर्माण व्यवसायीहरुले सम्झौता गर्दा नै असार, साउन र भदौमा काम नगर्ने सम्झौता हुने भएकाले निर्माण कार्यमा ढिलाइ हुने गरेको बताए। उनले पछिल्लो समय फटाफट काम अघि बढेको भन्दै कपनको रुप चाँडै फेरिने बताए।
आफू हरेक १५ दिनमा सडकको अनुगमनका लागि कपनमा आउने प्रतिबद्धता जनाउँदै महानिर्देशक सिग्देलले कमजोरी गर्ने कसैले पनि छुटकारा नपाउने बताए।
कार्यक्रममा निर्माण व्यवसायीहरुले अनेक विवाद र प्राविधिक समस्याका कारण सहज रुपले काम गर्न नपाएको बताएका थिए भने स्थानीय बासिन्दाले निर्माण व्यवसायीले नाफालाई मात्र ध्यान दिने गरेकाले समस्या भएको बताउँदै आक्रोश पोखेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।