निद्रा कम लाग्ने समस्या धेरै मानिसमा पाइन्छ। खासगरी वृद्धावस्थामा निद्रा नलाग्ने समस्या बढी देखिन्छ। ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार बिउँझने, बिहान चाँडै निद्राले छाड्ने जस्ता समस्या देखिन्छन्।
शरीरको स्वस्थ्यका लागि निद्रा अति आवस्यक हुन्छ। निश्चित समयमा भोक लाग्ने भनेजस्तै हामीलाई निश्चित समयमा निद्रा लाग्छ। निद्रा विभिन्न किसिमका हुन्छन्।
१. हलुका निद्रा
२. गहिरो निद्रा/आरामदायी निद्रा
३. आँखाको गेडी हल्लिने निद्रा
यी विभिन्न निद्रा हामी सुतेका बेला एकपछि अर्काे हुँदै चक्रीय रुपमा आइरहेका हुन्छन्। हलुका निद्रामा हामी कसैले बोलेको थाहा पाउँछौ र झसङ्ग भएर उठ्न सक्छौं। आँखाको गेडी हल्लिने निद्रा पनि पातलो नै हुन्छ। तर, जब गहिरो निद्रामा हुन्छौं, त्यति बेला हामीलाई केही थाहा हुँदैन। यस्तो निद्रालाई बोलिचालीमा ‘भाते निद्रा’ पनि भनिन्छ। मस्तिष्कको आरामका लागि गहिरो निद्रा आवश्यक छ।
शरीरको स्वास्थ्यका लागि कम्तिमा ६ घन्टा गहिरो निद्राको आवश्यकता पर्छ। बालक तथा बिरामी पर्दा त्यो भन्दा बढी निद्रा चाहिन्छ। कहिले काहीँ एक दिन निद्रा बिथोलिएमा त्यसको असर अर्को दिनसमेत पर्ने गर्छ। त्यसैले भनिन्छ नि, एक दिनको निद्राले ७ दिन पिरोल्छ।
निद्रा सम्बन्धी समस्या
धेरै मानिस थोरै समय मात्र निदाउने गरेकोे गुनासो गर्छन्। कसैलाई ओछ्यानमा पुगेपछि निदाउन घन्टौं लाग्ने, कोही निद्राको बीचबीचमा कैयौंपल्ट बिउँझिने र कसैको निद्रा खुलेपछि फेरि निदाउन नसक्नेजस्ता समस्या देखिन्छन्। यसको फलस्वरुप अर्को दिन पनि शरीर अल्छी हुने, थाकेजस्तो हुने, उँघ लाग्ने र एकाग्र हुन कठिन हुनेजस्ता समस्या देखिन्छन्। कोही धेरै निदाउने गर्छन्। खासगरी दिउँसो धेरै निद्रा लाग्ने, निद्राले काम गर्न कठिन हुने, पढ्न नसक्ने, पटक–पटक निद्रा लाग्ने गर्छ।
निदाएका बेला आउने समस्या
- निदाएका बेला डराउने, आत्तिने, चिच्याउने (स्लिप टेरर), नराम्रो सपना देख्ने र भोलिपल्ट कुनै कुरा सम्झन नसक्ने।
- निद्रामै रहेका बेला उठेर घरबाहिर निस्कने र हिँड्ने (स्लिप वाकिङ) र निकै बेर हिँडेपछि मात्र बिउँझेर घर फर्कने।
- निदाएका बेला बिछ्यौनामै पिसाब गर्ने। यो समस्या उपचार गरेपछि भने निको हुन्छ।
- निद्रामा बोल्ने, दाह्रा किट्ने, घुर्ने, खुट्टा हल्लाउने आदि।
- निद्राबाट बिउँझिनासाथ शरीर चलाउन नसक्ने (स्लिप प्यारालाइसिस)। यो अचानक निद्राबाट बिउझिँदा सपनाका कारण आत्तिएको वा डराइरहेका बेला शरीर हलचल हुन नसक्ने अवस्था हो। यस्तो बेला हामी शरीर चलाउन सक्दैनौं, बोल्न पनि सक्दैनौं, त्यसैले निसास्सिएजस्तो हुन्छ। केही मिनेटपछि मात्र हामी बोल्न वा शरीर चलाउन सक्छौं। हो अवस्था १–२ मिनेटसम्म मात्र रहन्छ। त्यसपछि आफैं ठीक हुन्छ।
मस्त निदाउने घरेलु उपाय
- सुत्ने कोठा शान्त हुनुपर्छ।
- दैनिक शारीरिक व्यायाम गर्ने।
- दिउँसो भरसक नसुत्ने।
- सुत्नुअघि चिया, कफी नखाने। बढी वा थोरै भोजन नखाने। बेलुकाको भोजन पनि हलुका गर्ने।
- सधैं निश्चित समयमा सुत्ने बानी बसाल्ने। राति छिट्टै सुत्ने र बिहान पनि छिट्टै उठ्ने।
- सुत्ने बेलामा मात्र बिछ्यौनामा जाने।
- निद्रमा समस्या देखिन थालेपछि धूमपान र मध्यपान नगर्ने।
- सकेसम्म सुत्नुअघि मनतातो पानीले नुहाउने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।