काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ।
मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ। पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ। काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको जनाउँदै कार्यालयले भैरहवाबाट काठमाडौं उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट भएको बतायो।
कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ।
दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ। दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ।
अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए। इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।