काठमाडौं– बुधबार साँझमात्रै काठमाडौंबाट वीरगञ्ज झरेका थिए रहबर अन्सारी। आफ्नो सहर पुग्न नपाउँदै उनीमाथि पर्साको प्रदेशसभामा क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्षतर्फ चुनाव लड्न चर्को दबाब पर्यो। अन्ततः उनी उम्मेदवार बने।
‘मैले सोचेकोसम्म पनि थिइनँ। एमालेसँगको भागबण्डामा (क) हाम्रो भागमा पर्यो। पार्टी नेताहरुले मलाई नै उठ्न कर गर्नुभयो, कुनै तयारी नै गर्न नपाई उम्मेदवार बनेँ,’ माओवादी केन्द्रका रहबरले भने, ‘अहिले मनोनयन दर्ताका लागि जान कार्यालयमै बसेर साथीहरुलाई फोन गरिरहेको छु।’
हालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा वीरगञ्ज महानगरको मेयरमा माओवादीबाट प्रतिस्पर्धा गरेका उनले ८ हजार ३ सय ५ मत ल्याएका थिए। खासगरी संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल गरेपछि चर्चित उम्मेदवार चाहिएको थियो, माओवादी केन्द्रलाई।
‘मधेसवादी दलको एकताले मैले लगत्तै अर्को चुनाव लड्नुपर्नेभयो,’ यो तथ्यलाई रहबर पनि स्वीकार्छन्। कुनै तयारीबिनै चुनावमा होमिनुपरे पनि थोरै मेहनत गरे चुनाव जित्ने उनको विश्वास छ।
क्षेत्र १ को (क) मा १३, १४, १८, २०, २१, २२, २३, ३०, ३१, ३२ गरी १० वटा वडा छन्। यीमध्ये १४ नम्बर वडामा रहबरको घर छ, जहाँबाट उनले मेयरमा लिड गरेका थिए। २० नम्बर वडा माओवादीले जितेको थियो।
‘दुई वटा वडा २१ र २२ मा थोरै मेहनत गर्नुपर्नेछ,’ उनले भने, ‘बाँकी वडामा एमालेको पनि राम्रै मत आएकाले गठबन्धन बलियो बनाए जितिन्छ।’
एमालेले ३० नम्बर वडा जितेको थियो, माओवादी तेस्रो भएको थियो। माओवादीले जितेको २० नम्बर वडामा एमाले दोस्रो भएको थियो। मेयरमा उठ्दा यी १० वटा वडाबाट मात्रै रहबरले ५ हजार मत ल्याएका थिए। त्यसमा एमाले मत पनि जोडिँदा उनले निकटको प्रतिस्पर्धा दिने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।