खोटाङ- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन अखिल नेपाल शिक्षक संगठनले आगामी निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्ने बताएको छ।
संगठनका जिल्ला अध्यक्ष अर्जुन दाहालले बुधबार सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन्। अध्यक्ष दाहालले आफूहरु पार्टीको झोले मात्र भएर बस्न नसक्ने भन्दै देशमा स्थायी शान्ति कायम गर्न आगामी निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिएको बताए।
'हाम्रो मातृ पार्टीले निर्वाचनलाई बहिस्कार गरेको छ,' उनले भने, 'अहिलेको अवस्थामा देशलाई निकास दिन निर्वाचन उत्तम विकल्प भएकाले हाम्रो संगठनले वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको हो।'
नेकपा (माओवादी केन्द्र) निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कृष्ण गुरुङले नेपालमा स्थापित सबै प्रगतिशील विचारधाराका शिक्षक संगठनबीच एकता हुनुपर्नेमा जोड दिए। उनले भने, 'चुनावलगत्तै फरकफरक समूहमा विभाजित कम्युनिट विचारधाराका संगठन एकीकरण गर्ने अभ्यासमा लागि परेका छौँ।'
वामपन्थी शिक्षक संगठन एकीकरणका लागि छिमेकी जिल्लामा स्थापित संगठनका नेतासँग पनि छलफल थालिएको पत्रकार सम्मेलनमा बताइयो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।