धनगढी - जिल्ला प्रशासन कार्यालय कैलालीले सदरमुकाम धनगढीमा रहेका विभिन्न कार्यालयको आज छड्के निरीक्षण गर्दा झण्डै ५०० भन्दा बढी कर्मचारी कार्यालयमा अनुपस्थित रहेको पाइएको छ।
कर्मचारीको अनुपस्थितिकै कारण नजिकिएको निर्वाचनको काम प्रभावित हुन सक्ने र वडा दशैं र तिहारको बिदामा घर गएका कर्मचारी लामो समयसम्म पनि कार्यालयमा नफर्किने प्रवृत्ति बढ्दै गएको अवस्थामा कार्यालयले दिने सेवा प्रवाहमा कमीकमजोरी नहोस् भन्ने उद्देश्यले आज छड्के निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए।
झण्डै ४५ वटा कार्यालयको छड्के निरीक्षण गरिएकामा २४ जना कर्मचारी कार्यरत रहेको जिल्ला प्राविधिक कार्यालयमा २२ जना अनुपस्थित रहेको पाइएको प्रजिअ रिजालले बताए।
यस्तै, जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सेती अञ्चल अस्पताल धनगढीमा ८२ जना कर्मचारी अनुपस्थित रहेको पाइयो ।
लामो समयसम्म कार्यालयमा अनुपस्थित हुने कर्मचारीको विषयमा छानविन गरी बिनाकारण अनुपस्थित रहेको पाइएमा सम्बन्धित कर्मचारीमाथि कारबाहीका लागि लेखी पठाउने तयारी भएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।