हुम्ला- दशैं, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करिब दुई सय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन्।
हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी अलपत्र परेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा कर्मचारीहरु हतारमा आ–आफ्नो कार्यालय फर्किन थाले पनि अधिकांश कर्मचारी हवाईजहाजको टिकट नपाएर हप्तौंदेखि नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका मुख्य निर्वाचन अधिकृत अनिलकुमार शर्माले बताए।
'कर्मचारी जिल्ला नआइसकेकाले निर्वाचनमा खटिनेहरुको नामावली केन्द्रमा पठाउन सकिएको छैन', उनले भने।
जिल्ला समन्वय समितिका सचिव लोकबहादुर सुनारले हवाईजहाजको टिकट नपाएर एक हप्ता नेपालगञ्ज बस्नुपरेको बताए।
'बल्ल आज टिकट पाइयो र आइये । अरु कर्मचारी अलपत्र परेका छन्', उनले भने । नेपाल एयरलाइन्सका साथै तारा र सीता एयरका विमानले नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आए पनि नियमित भने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।