काठमाडौँ- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने भोजपुर घर भई झापाको पथरिया बस्ने पर्शुराम गुरुङ बुधबार थाइल्यान्डमा पक्राउ परेका छन्।
रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिई करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका गुरुङलाई थाइल्यान्डस्थित नेपाली राजदूतावास र नेपाल प्रहरीको सहयोगमा त्यहाँको प्रहरीले पक्राउ गरेको हो। उनले क्यानडा, अष्ट्रेलिया, अमेरिका, कोरिया, मकाउ लगायत देश पठाइदिने प्रलोभन दिई विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको भन्दै राजदूतावासमा उजुरी परेको थियो।
फरार गुरुङमाथि नेपाल प्रहरीले इन्टरपोलमार्फत पक्राउ पूर्जीसमेत जारी गरेको थियो।
उनलाई थाइल्यान्डको प्रहरीले नेपाली राजदूतावासका प्रतिनिधिको उपस्थितिमा बैंककमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
थाइल्यान्डमा वैध राहदानी र विनाप्रवेशाज्ञा गैरकानुनी रुपमा बसेको अपराधमा समेत त्यहाँको सरकारले गुरुङमाथि अनुसन्धान र कारबाही भइरहेको जनाइएको छ। नेपाल र थाइल्यान्डको वर्तमान कानुन तथा पारस्परिक सहयोगका आधारमा उनीमाथि कारबाही अघि बढाइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।