काठमाडौं- माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा झक्कुप्रसाद सुवेदीलाई भिडाउने भएपछि अर्का नेता हिमाल शर्माले असन्तुष्टि व्यक्त गरेका छन्।
नेता शर्माले ट्विटर मार्फत आफ्नो असन्तुष्टि पोखेका हुन् । 'माओवादी केन्द्रको मत्स्य न्याय' भन्दै पहिलो ट्विट गरेको दुई घन्टापछि उनले अर्को ट्विट गरेका छन्- 'झुक्याउनुको पनि हद हुन्छ नि !'
शर्मा संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा पराजित भएका थिए । उनले त्यसबेला ४ हजार ६९ मत प्राप्त गरेका थिए । सो क्षेत्रबाट विजयी भएका कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले ११ हजार ४३ मत ल्याएका थिए।
क्षेत्र नम्बर ६ मा शर्मालाई उम्मेदवार बनाउने चर्चा भए पनि अन्तिम समयमा पार्टीले झक्कु सुवेदीलाई उतार्ने निर्णय गरेको हो।
झक्कु सुवेदी ती नेता हुन्, जसले संविधानसभा पहिलो निर्वाचनमा काठमाडौं २ मा एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेका थिए । झक्कु १३ हजार ८ सय ५८ मतसहित विजयी भएका थिए भने नेता नेपालले १२ हजार ३ सय २५ मत प्राप्त गरेका थिए।
यस्तै, माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर १० मा हितमान शाक्य, ८ मा उमेश स्थापित र १ मा जनार्दन शर्माका भाइ अनिल शर्मालाई उठाउने माओवादी केन्द्रका नेताले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।