लहान- आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सिरहामा ६ वटा मतदान केन्द्र थप गरिएको छ।
गत असोज २ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४३१ मतदान केन्द्र कायम भएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिइन्। योसँगै सिरहामा अव मतदान केन्द्रको संख्या ४३६ पुगेको छ।
यहाँ रहेका मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र खारेज गरिएको छ भने स्थानीय तहकै निर्वाचनका बेला कायम भएको २३० वटा मतदान केन्द्र अहिले पनि कायम रहेको प्रमुख यादवको भनाइ छ।
पछिल्लो पटक सिरहा नगरपालिका–१७ मा, लहान नगरपालिकाको वडा नं ३, गोलबजार नगरपालिका–२, औरही गाउँपालिकाको वडा नं ३, अर्नमा गाउँपालिका– ३ र नरहा गाउँपालिका–नं १ मा मतदान केन्द्र थप गरिएको तथा कल्याणपुर नगरपालिका– ६ को कटटहा मतदान केन्द्र खारेज गरिएको हो।
प्रतिनिधिसभाका लागि चारवटा र प्रदेशसभाका लागि आठवटा निर्वाचन क्षेत्र रहेको सिरहामा पुरुष एक लाख ८४ हजार १०१, महिला एक लाख ६० हजार २६७ र दुई तेस्रो लिंगी गरी तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।