रत्ननगर, चितवन- चितवनको रत्ननगरका बाढीपीडितलाई जर्मनीबाट रु चार लाख ४० हजार सहयोग भएको छ।
रत्ननगर नगरपालिका–८ सौराहास्थित रमाइलो बस्तीका २२ घर बाढी प्रभावितलाई जर्मनीको अफ्रिका–लुज द–इचलान भन्ने संस्थामार्फत आज यसरी सहयोग गरिएको हो। गत साउन २८ गते आएको बाढीले घर बगाउँदा स्थानीयवासी घरबारविहीन भएका थिए भने केही घर भत्किएको थियो।
विपन्न परिवारका बाढीपीडित रहेकाले उनीहरुलाई प्रतिघर रु २० हजारका दरले सो राहत प्रदान गरिएको सहयोगको संयोजन गर्नुहुने होटल पार्क साइड सौराहाका सञ्चालक शिरलाल परियारले जानकारी दिए।
नेपाल र अफ्रिकामा सहयोग गर्दै आएको उक्त संस्थाकी उपाध्यक्ष बारबारा बेर्नाले नेपालको विपन्न परिवारका बाढी प्रभावितलाई सहयोग गर्न पाएकामा आफूलाई खुसी लागेको भन्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताइन्। जर्मनीका प्राध्यापक डा दाउसको नेतृत्वमा स्थापना भएको अफ्रिका–लुज द–इचलान नामक संस्थाले अफ्रिका र नेपालमा निःशुल्क आँखा शिविर र आँखाको शल्यक्रियासमेत गर्दै आएको छ।
नेपालमा ग्रिन सोसाइटी सौराहाको विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको उक्त संस्थाले यसअघि भूकम्पपीडितलाई समेत सहयोग गरेको उपाध्यक्ष बेर्नाले जानकारी दिइन्।
उनीहरुले भूकम्प प्रभावित क्षेत्रमै पुगेर आज सहयोग हस्तान्तरण गरेका थिए। साउन २८ गते आएको बाढीले चितवनका सौराहा क्षेत्र बढी प्रभावित बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।