काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख दिने काम नगर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्।
नेपाल पर्वतारोहण संघको ४४औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा सचिव न्यौपानेले नेपालमा रहेका हिमालको गरिमा र सुन्दरतालाई कसरी बढाउन सकिन्छ भन्नेबारे सबैले सोच्नुपर्ने बेला आएको बताए। 'नेपालमा कसरी धेरै विदेशी पर्यटक भित्र्याउन सकिन्छ, त्यो बारे सोचौँ,' उनले भने।
उनले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई धेरै अधिकार दिएको भन्दै हिमाल नवीकरण गर्नेमा मन्त्रालयले नरोक्ने बताए।
पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले नेपालको साहसिक पर्यटनको विकासमा नेपाल पर्वतारोहण संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पर्यटकको सेवा सुविधालाई झन् व्यवस्थित बनाउन आग्रह गरे।
संघका अध्यक्ष सन्तवीर लामाले संघले स्थापनाकालमा लिएको उद्देश्य पूरा गर्दै पर्यटन क्षेत्रको विकास र विस्तारमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।