कञ्चनपुर- केराखेतीका लागि जग्गा भाडामा दिएर कञ्चनपुरको चाँनदेउमा रहेको रामेश्वर आधारभूत विद्यालयले तीन शिक्षकको तलब बेहोर्दै आएको छ।
प्रतिबिघा दुई लाख रुपैयाँ पाउने गरी जग्गा भाडामा दिएर विद्यालयले शिक्षकको तलबको व्यवस्था गर्दै आएको हो। विद्यालयको स्वामित्वमा रहेको चार बिघा जग्गा पाँच वर्षका लागि भाडामा दिइएको हो। 'तीन वर्ष अघिदेखि जग्गा भाडामा दिएर निजी स्रोतका तीन शिक्षकको तलबको व्यवस्था मिलाउँदै आएका छौँ,' विद्यालयका प्रधानाध्यापक रामप्रसाद जोशीले भने।
अपुग तलबको रकम विद्यालयले व्यापारिक प्रयोजनका लागि बनाएका कोठा भाडामा दिएर पूर्ति गर्दै आएको छ। विद्यालयमा पाँच शिक्षक राहत कोटा र तीन निजी स्रोतमा कार्यरत रहेका छन्।
२०५५ मा स्थापना भएको विद्यालयमा स्थायी दरबन्दीका शिक्षकको व्यवस्थाका लागि विद्यालय व्यवस्थापन समितिले माग गर्दै आए पनि बेवास्ता भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।