आठराई- तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभाका लागि राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाएसँगै चुनावी सरगर्मी बढेको छ।
दलहरुले उम्मेदवारहरु टुंग्याएसँगै चिया पसलदेखि सार्वजनिक ठाउँसम्ममा चर्चा हुन थालेको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि एकमात्र क्षेत्र रहेको तेह्रथुममा नेपाली कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई उम्मेदवार बनाएको छ । कांग्रेसकी निर्वाचित केन्द्रीय सदस्य गुरुङ ०६४ र ०७० को संविधानसभाको निर्वाचनमा समानुपातिक सभासद् भएकी थिइन्।
यस्तै, वाम गठबन्धनले एमालेका पूर्व सभासद् भवानी खापुङलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । खापुङ ०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षबाट सभासद निर्वाचित भएका थिए।
प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको तेह्रथुममा क्षेत्र नम्बर १ बाट कांग्रेसले गोविन्द ढुंगानालाई उम्मेदवार बनाएको छ भने गठबन्धनबाट एमालेका लक्ष्मण तिवारीलाई टिकट दिएको छ । ढुंगाना कांग्रेस तेह्रथुमको अहिले दोस्रो कार्यकालमा सभापति छन् भने तिवारी पनि एमाले तेह्रथुमका जिल्ला अध्यक्ष हुन् । जिल्लाका दुई पार्टी अध्यक्षबीचको चुनावी प्रतिष्पर्धा निकै रोचक हुने अपेक्षा गरिएको छ।
प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट कांग्रेसले विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ । एमालेले तेजमान कन्दङवालाई उठाएको छ । वाम गठबन्धनबाट जिल्लामा माओवादी केन्द्रले उम्मेदवार पाएको छैन। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।