रत्ननगर- पश्चिम चितवनको मेघौलीबाट उद्धार गरिएको एउटा गैँडाको बच्चा (केटो) को मृत्यु भएको छ।
बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अन्दाजी दुई वर्षको गैँडाको बच्चा गएराति मरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।
अत्यन्त नाजुक अवस्थामा उद्धार गरिएको गैँडाको केटो हिजो साँझ हिँड्दै गर्दा ढलेपछि उठ्न नसकेको कँडेलको भनाइ छ। आफ्नो ज्यान समेत धान्न नसक्ने अवस्थाको केटोको उद्धार गरिएको थियो।
बाघले आक्रमण गरेको घाउमा किरा परेको अवस्थामा गस्ती टोलीले देखेपछि तीन दिनअघि उद्धार गरेर चितवनको सौराहामा ल्याइएको थियो।
शरीरका विभिन्न भागमा बाघले चिथोरेर घाउ बनाएको थियो। पिठ्युँमा गम्भीर चोटसमेत रहेकाले उपचार प्रयास सफल हुन नसकेको निकुञ्जले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।