काठमाडौं– जापानमा रोजगारीका लागि नेपाली कामदार पठाउने विषयमा दुई देशका उच्च अधिकारीबीच सम्झौता भएपछि यसको प्रक्रियाबारे काम सुरु भएको छ। श्रम समझदारी पत्र (एमओसी) मा गत सोमबार दुवै देशका अधिकारीले हस्ताक्षर गरेसँगै नेपाली कामदार जापान रोजगारीमा सरकारी संयन्त्रमार्फत जान पाउने भएका हुन्।
अप्रिलदेखि कामदार भर्ना प्रक्रिया अगाडि बढाउने गरी सरकारले पहल गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
यसअघि व्यक्तिगत तवरमार्फत अदक्ष कामदारहरू रोजगारीमा जापान जाने गरेका थिए। तर, अब जापान रोजगारीमा दक्ष श्रमिकमात्रै जान पाउने भएका छन्।
यसअघि रोजगारीमा गएका अदक्ष श्रमिकका हकमा कस्तो व्यवस्था होला भन्ने प्रश्नहरू यतिबेला उठ्न थालेका छन्। जापान रोजगारीमा पुगेर श्रम गरिरहेका अदक्ष नेपाली श्रमिकले गरिरहेको काम सोही तरिकाबाट गर्न सक्नेछन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले नेपाल लाइभसँग भने, ‘अदक्ष श्रमिकले पनि जापान पुगेर काम गरिरहेका छन्, उनीहरूलाई जापान सरकारले अदक्ष भए पनि स्वीकार गरेकाले उनीहरूका हकमा नयाँ कुनै व्यवस्था छैन।’
अब सरकारले गर्ने नयाँ भर्नामा सीप युक्त श्रमिक मात्रै जान पाउने उनको भनाइ छ।
सर्टिफिकेटसँगै सिप
जापान रोजगारीका विषयमा चर्चा चलेसँगै जापानिज भाषा अध्ययनका लागि युवाहरु इन्स्टिच्युट र कन्सलटेन्सी धाउने लर्को लाग्न थालेको छ। जापानिज भाषा अध्ययनको सर्टिफिकेट र सिपको सर्टिफिकेट साथमा भएर मात्रै पनि जापान रोजगारीका लागि युवा पठाउन नसकिने सरकारी अधिकारी बताउँछन्।
जापान रोजगारीमा पठाउनुपूर्व सरकारले भाषा परीक्षण र सिप परीक्षण गर्ने भएको छ। सिप चाहिन्छ भनेर सिपको प्रमाणपत्र मात्र बोकेर आउने तर उनीहरू काम गर्न नसक्ने जस्ता समस्या आउने भन्दै सिप परीक्षण गरिने व्यवस्था ल्याइएको मन्त्रालयले जानकारी दिएको छ।
अदक्ष श्रमिकहरू समस्यामा पर्ने भन्दै सरकारले दक्ष श्रमिकहरू जापान रोजगारीको प्राथमिकतामा राखेको छ।
कोरियाको जस्तै भाषा पास गरेपछि अदक्ष कामदार पनि जान पाउने भन्ने भ्रममा नपर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मी बताउँछन्। प्रवक्ता रेग्मीले भने, ‘भाषा पास भएरमात्रै हुँदैन, सिप परीक्षण पनि हुन्छ, सिप परीक्षणमार्फत दक्ष श्रमिकमात्रै जापान रोजगारीमा जान पाउँछन्।’
भाषाको मापदण्डबारे छलफल गरिँदै
जापान रोजगारीमा जाने नेपाली श्रमिकहरूको भाषा अध्ययन तथा परीक्षण विधिबारे थप छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ। हल्लाको पछि लागेर इन्स्टिच्युट वा कन्सलटेन्सी धाउने युवालाई पहिले सिप सिक्न र सोहीअनुसार बुझेर जापानिज भाषा अध्ययन अगाडि बढाउन मन्त्रालयले आग्रहसमेत गर्दै आएको छ।
भाषा अध्ययन, परीक्षणबारे व्यवस्था जापान सरकारले नै गर्ने र त्यसमा नेपाल सरकारले सहजीकरण मात्रै गर्ने जनाइएको छ। भाषा अध्ययन प्रक्रिया शिक्षा मन्त्रालयसँग सहकार्य गरेर टुंगो लगाइने श्रम मन्त्रालयले जनाएको छ।
भाषा अध्ययन गराउने निजी प्रशिक्षण केन्द्रको संख्या यकिन गर्न समेत श्रम मन्त्रालयले शिक्षा मन्त्रालयसँग आग्रह गरेको बताइएको छ।
कहिले खुल्छ जापान रोजगारी?
जापानी राजदूत सामामिची साइगो र नेपालका तर्फबाट श्रम मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले जापान र नेपाल सरकारबीच श्रमिक आपूर्तिबारे सहकार्यको समझदारी पत्र (एमओसी) मा हस्ताक्षर गरे।
यससँगै रोजगारीका लागि नेपाली श्रमिकहरूका बाटो खुला भए पनि कहिले देखि नेपाली श्रमिक जापान रोजगारीमा जान पाउने भन्ने टुंगो लाग्न सकेको छैन।
जतिसक्दो छिटो जापान रोजगारीमा कामदार पठाउन पहल गरिने मन्त्रालयले जानकारी दिएको छ। जसका लागि जापान र नेपाल सरकारबीच जोइन्ट कमिटी गठन गरिने र थप छलफल गरिने प्रवक्ता रेग्मी बताउँछन्।
जापानमा कामदार अभाव भएसँगै जापान सरकारले विदेशी कामदार भित्र्याउने नयाँ नीतिअनुसार ५ वर्षको अवधिमा ३ लाख ४५ हजारभन्दा बढी विदेशी श्रमिकहरु भित्र्याउने जनाएको छ।
कृषि, होटल, रेस्टुराँ, माछापालन, नर्सिङ, निर्माण, उद्योग लगायतका विभिन्न १४ वटा क्षेत्रमा श्रमिक लैजाने नीति जापानले अघि सारेको छ।
जापानका सम्भावित रोजगारीका क्षेत्रमा उल्लेख्य संख्यामा नेपाली श्रमिक पठाउन सरकारले पहल गरिरहेको जनाएको छ।
नर्सिङ, कृषि, केयरगिभर लगायतका क्षेत्र नेपाली श्रमिकका लागि सम्भावित क्षेत्र रहन सक्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।