राजविराज- आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका नेताहरुले केन्द्रमा बसेर सिट बाँडफाँट गरेर सार्वजनिक गरेलगत्तै असन्तुष्टि जनाउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका एक नेताले बागी उम्मेदवारीको घोषणा गरेका छन्।
सप्तरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी निश्चित भएपछि राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन्।
राजविराजमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा ठाकुरले पार्टीको गलत निर्णयविरुद्ध आफूले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै पार्टीको सहमहामन्त्री लगायत साधारण सदस्यसमेत परित्याग गरेको बताए।
यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएर पराजित भएका ठाकुर पछिल्ला मधेश आन्दोलनमा निकै सक्रिय थिए।
उनी आफूलाई प्रतिनिधिसभाको टिकट दिइने भन्दै चुनावको तयारीमा जुटेका थिए। तर ठाकुर आकांक्षी रहेको निर्वाचन क्षेत्रमा राजपाले संघीय फोरम नेपाललाई दिएपछि उनले गठबन्धनले गरेको बाँडफाँट बाहिर आएलगत्तै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।
त्यस्तै, गत शनिबारदेखि टिकटका लागि राजविराजमा आमरण अनशनमा बसेका राजपाका क्षेत्रीय सभापति लक्ष्मण यादवले समेत प्रदेशसभाका लागि मंगलबारै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
निष्ठावान र सक्रिय कार्यकर्तालाई पाखा लगाई पार्टीले टिकट वितरणमा भेदभाव गरी नातावाद, पहुँच र व्यक्तिवादका आधारमा टिकट वितरण गरेको भन्दै जारी अनशन यादवले मंगलबारदेखि स्थगित गरेका छन्।
अनशन स्थगित गरेपछि क्षेत्र नम्बर २ (ख) बाट उनले प्रदेशसभामा आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे। सो ठाउँमा राजपाका महासचिव मनिष सुमनको उम्मेदवारी पक्का भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।