जनकपुर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको वर्तमान सरकार 'काम न काजको' भएकाे आरोप लगाएका छन्।
धनुषाको सहिदनगर नगरपालिकामा बुधबार भएको सभालाई सम्बोधन गर्दै नेता पौडेलले वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपाली नारा नाममै सीमित भएको आरोपसमेत लगाए।
उनले भने, ‘यो सरकार आफू सुखी र आफ्नो पार्टीलाई मात्र समृद्ध पार्न लागि परेको छ।’
मुद्दा र नीतिमा वर्तमान सरकार र मधेशवादी दल दुवै मधेशविरोधी रहेको पौडेलले दाबी गरे। कांग्रेसलाई तराई मधेशले नै जन्माएको बताउँदै पौडेलले भने, ‘तराई नेपाली कांग्रेसको प्राण हो र आगामी दिनमा यो सम्बन्ध अझ प्रगाढ बनेर जानेछ।’
प्रधानमन्त्री ओलीलाई इंगित गर्दै पौडेलले भने, 'अहिले समृद्ध मधेश बनाउन पानी जहाज होइन सिँचाइको आवश्यकता छ।'
केपी ओलीको जालमा परेर सरकारलाई समर्थन गरेको मधेशवादी दलले संविधान संशोधनको मुद्दा बिर्सिएको पौडेलको भनाइ थियो। जनताको भावनामा खेलवाड गर्दै मधेशवादी दल सत्ता र कुर्सीमा रुमलिएको पौडेलको तर्क थियो।
मधेशलाई समृद्ध बनाउन चुरे संरक्षण गर्नुपर्नेमा उनले जोड दिए। कम्युनिस्ट सरकार कहिले पनि संघीयताको पक्षमा नरहेको जिकिर गर्दै पौडेलले वर्तमान सरकार सबै निकायलाई आफ्नो मातहत ल्याउन उद्धत रहेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।