एजेन्सी - केही समयअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा फेसबुकले एउटा त्यस्तो कार्यक्रम बन्द गरेको समाचारले व्यापकता पाएको थियो, जुन कार्यक्रम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अनुसन्धानबारे थियो ।
समाचारमा फेसबुकको एआईसम्बन्धी अनुसन्धान बन्द गर्नु परेको कारण भने कार्यक्रमअन्तर्गत बनाइएका च्याटबोट्स (रोबट)हरूले अंग्रेजी भाषा प्रयोग गर्नुको साटो मानिसले नबुझ्ने गरी आफ्नो बेग्लै भाषा विकास गरेको बताइएको थियो । ती च्याटबोट्सहरूले प्रयोग गर्नुपर्ने भाषा अंग्रेजी तय गरिएको थियो ।
अल्बर्ट आइन्स्टाइनपछि सर्वाधिक तिक्ष्ण मानिएका स्टिफन हकिङदेखि व्यवसायी एलन मस्क र माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्ससम्मले भविष्यमा मानिसले सुपर–स्मार्ट मेसिन (रोबट)बाट कडा चुनौति झेल्नुपर्ने चेतावनी दिँदै आएका छन् ।
यसैकारण वैज्ञानिकसमेत रहेका मस्कजस्ता व्यवसायी ‘ओपन एआई’ जस्ता परियोजनामा लगानी गरिरहेका छन् । यसको उद्देश्य अन्धाधुन्द रोबट उत्पादन र प्रयोगको साटो मानव सहयोगी बुद्धिमान मेसिन निर्माण गर्नु रहेको छ ।
तर यो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) के हो त ?
कलकारखानामा अधिकांश मेसिनहरू एउटै काम बारम्बार गरिहने हुन्छन् । यस्ता मेसिनलाई स्मार्ट मेसिन भनिँदैन ।
मानिसको निर्देशन बुझ्ने, अनुहार चिन्ने, आफैं गाडी हाँक्ने वा जित्नका लागि कुनै खेल खेल्ने सोचविचार गर्नसक्ने कृत्रिम बुद्धिलाई एआई भनिन्छ ।
एआईले अनेकौं प्रकारले सघाउँछ । जस्तो कि एप्पलको सिरी वा माइक्रोसफ्टको कोर्टानाले हामीले दिने निर्देशनअनुसार अनेकौं काम गर्छन् । कैयौं होटलमा रोबटले पाहुनाको स्वागत गर्छन् ।
अहिले विश्वभर नै स्वचालित कारको विकास भइरहेको छ । यस्तै अनेकौं कम्प्युटर प्रोग्रामहरू छन्, जसले हामीलाई कैयौं विषयमा निर्णय लिन सघाउँछन् ।
जस्तो गुगलको एआई कम्पनी डिपमाइन्ड बेलायतका ब्रिटिस नेसनल हेल्थ सर्भिससँग मिलेर निकै वटा परियोजनामा सहकार्य गरिरहेको छ ।
अहिले रोबटले मानिसको शल्यक्रियासम्म पनि गर्न थालिसकेका छन् । रोबटले मानिसको परीक्षण गरी उसलाई लागेका कतिपय रोग पत्ता लगाउन थालेका छन् ।
अहिले मानिसले धेरै काममा एआईको उपयोग गरिरहेको छ, अनेकौं परीक्षण गरिरहेको छ । एआईको उपयोग गरेर विभिन्न रोगका नयाँ नयाँ औषधि विकास गरिरहेको छ, नयाँ रासायनिक पदार्थ खोजी भइरहेको छ । मानिसलाई अत्यधिक समय लाग्ने कामहरू एआईको प्रयोगबाट केही बेरमै सम्पन्न हुन थालेको छ ।
यसैगरी अत्यन्त जटिल प्रणालीहरू सञ्चालन गर्न पनि एआईको उपयोग गरिन्छ । जस्तो विश्वभर नै हवाईजहाजको उडान र अवतरण तथा उडानमार्ग नियन्त्रण प्रणाली समेत कम्प्युटरको सहयोगबाट सञ्चालन गरिन्छ ।
कुन हवाईजहाज कुन उडानमार्गबाट जान्छ, सामान कहाँ पु¥याउँछ, अहिले सामान कहाँ छ थाहा पाउन सकिन्छ र यो सबै कम्प्युटरले तय गर्छ । अर्को शब्दमा एयर ट्राफिक कन्ट्रोल गर्न पनि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिन्छ ।
खानी उद्योगदेखि अन्तरिक्ष यात्रासम्म पनि मेसिनको मस्तिष्कको प्रयोग मानवको सहयोगका लागि भइरहेको छ ।
सेयर बजार, बीमा कम्पनी, बैंक, वस्तु खरिद बिक्री, वस्तु उत्पादनलगायत मानवका अधिकांश गतिविधिमा एआई उपयोग भइरहेको छ ।
आज मेसिन र एआई मानव जीवनको अभिन्न अंग भइसकेको छ । अहिले स्थिति यस्तो भइसकेको छ कि मेसिन बिनाको मानव जीवनको कल्पना समेत गर्न सकिन्न ।
तर कुनै स्मार्ट रोबट विद्रोही हुने खतराभन्दा पनि खराब कुरा मेसिनमाथि मानवको निर्भरता हो, जुन निरन्तर बढ्दै गइरहेको छ ।
भए भएका तथ्यांक हालेर मेसिन (कम्प्युटर)लाई विश्लेषण गर्न लगाइन्छ र त्यसको परिणाम निकाल्न लगाइन्छ । तर कसैले जानी बुझी तथ्यांक फरक पारेर मेसिनलाई पनि गलत नतिजा निकाल्नतर्फ धकेल्न सकिन्छ । यस्तोमा स्मार्ट मेसिन (एआई)ले गर्ने गल्तीको सिकार मानव बन्न सक्छन् ।
अहिले विश्वमा रोग पत्ता लगाउनेदेखि मानिस अपराधी हुने स्वभावसम्म पत्ता लगाउन मेसिनको प्रयोग हुन थालेको छ । यस्तोमा हामीले मेसिनबाट सधैं सही उत्तर वा समाधानको अपेक्षा गर्नु उचित हुँदैन । बरु उनीहरूका समाधानको दोहो¥याएर जाँच गर्नु पर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।