काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन सरोकारवाला निकाय दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन्।
उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तयार पारिएको तीन महिने कार्ययोजना २०७५ बारे मंगलबार छलफलका क्रममा उनले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जाेड दिए।
'तीन महिने कार्ययोजनालाई सामान्य पूर्वाधारका रुपमा खडा गरी काम गर्नु आवश्यक छ', उनले भने।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अझ सुदृढ, सबल र सुरक्षित बनाउनका लागि उक्त योजना अगाडि ल्याइएको प्रष्ट पारे।
तीन महिने कार्ययोजनाअन्तर्गत चक्रपथभित्रका करिडोर सञ्चालन, फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रसिङ बनाउने, ट्राफिक सचेतनासम्बन्धी कक्षा सञ्चालनलगायत कार्यक्रम छन्।
छलफलमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, काठमाडौं, भक्तपुर र ललितपुरका महानगरपालिका प्रमुख एवम् प्रतिनिधि, सडक विभागका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि, गुणस्तर तथा नापतौल विभागका प्रतिनिधिलगायत सरोकारवालाको उपस्थिति थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।