मकवानपुर– नेपाली र भारतीय माफियाका लागि लागूऔषध गाँजा खेतीको पकेट क्षेत्र मानिएको मकवानपुरमा प्रहरीले कारबाही थालेको छ।
मकवानपुर प्रहरीले गाँजाको अत्यधिक खेती हुने एक गाउँपालिकामा ४ सय ४३ कठ्ठामा लगाएको गाँजाको ब्याड र २९२ कठ्ठामा लगाएको गाँजाको बोट नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विकास खनालले जिल्लाको उत्तरी भागमा रहेको राक्सीराङ गाउँपालिका करिब ३६ बिगाहामा भइरहेको गाँजाको व्यावसायिक खेती नष्ट गरिएको जानकारी दिए।
उनका अनुसार, गाँजाको व्यावसायिक खेतीका लागि सो क्षेत्रमा भारतीय माफिया समेत सक्रिय रहेको सूचनाका आधारमा प्रहरीले कारबाही थालेको हो। भारतीय माफियाले दुर्गम क्षेत्रमा जग्गा भाडामा लिएर व्यावसायिक गाँजा खेती गर्ने गरेको प्रहरीको भनाइ छ।
ग्रामीण भेगका बासिन्दालाई आर्थिक प्रलोभनमा पारेर यस क्षेत्रबाट गाँजाको व्यावसायिक उत्पादन हुने गरेको प्रहरी उपरीक्षक खनालले बताए।
प्रहरीले राक्सीराङ गाउँपालिकाबाटै करिब ३२ किलो गाँजासहित जय तामाङलाई पक्राउ गरेको छ । एसपी खनालका अनुसार, अदुवाको बोरामा गाँजाको अवैध ओसारपसार गरिरहेका तामाङ पक्राउ परेका हुन्।
‘गाँजा र चरेसको व्यावसायिक खेती र ओसारपसारका लागि कुख्यात क्षेत्रमा प्रहरीले आफ्नो पहुँच बढाउँदै लगेको छ, बाँकी गाँउपालिकामा समेत अभियान चलाउनेछ,’ एसपी खनालले नेपाल लाइभसँग भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।