दाङ- आजदेखि देशभर माध्यमिक शिक्षाको प्रथम खुड्किलो एसइई परिक्षा सुरु भएको छ। परिक्षार्थीहरुको भिडमा नेकपा संसदीय दलकी सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी पनि सहभागि भएकी छिन्।
२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षा सुरु भएको थियो। कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गए पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन्। त्यसैले उनी खुल्ला विद्यालयवाट एसइई दिन लागेकी हुन्।
उनी यसपटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइईको परीक्षा दिँदै छिन्। ‘यसपालि म छोरीसँग परीक्षा दिँदैछु’, उनले हाँस्दै भनिन्, ‘ममी कस्को नम्बर धेरै आउँछ! भन्दै छोरीले जिस्काउँछिन्।' नम्बर धेरै नआएपनि सफल भने पक्कै हुने उनले विश्वास व्यक्त गरिन्।
नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरीको परीक्षा केन्द्र तुलसीपुर मावि, तुलसीपुरमा तोकिएको छ। उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल वसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छिन्। ‘व्यस्तताको कारण नियमित कक्षा जान पाइन, सानोमा रहर भएपनि विद्यालय जान पाइएन’, परीक्षा हल छिर्नुअघि चाैधरीले भननिन्, ‘त्यसैले अहिले मेहनत धेरै गर्नुपरेको छ। सोचेअनुसार भयो भने पिएचडी गर्ने रहर छ।’
२०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझेको बताइन्। केही वर्ष स्वाध्ययन गरेपछि औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने रहर लागेपछि अप्ठेरो नमानेरै विद्यालयमा भर्ना भएको उनले सुनाइन्।
प्रसन्न मुद्रामा परीक्षा केन्द्र छिरेकी सांसद चाैधरीकाे भावभंगिमासहितका केही तस्बिरहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।