काठमाडौं- भृकुटीमण्डपमा शनिदेखि पुष्प मेला शुरु भएको पुष्पमेलामा प्रवेश गर्ने गेट नजिकै आइपुगेका एक अवलोकनकर्ताले भन्दै थिए, 'फूल हेर्दा मात्रै पनि आनन्द आउँछ।'
उनको यो भनाई त्यतिबेला झन् पुष्टित हुन्छ जतिबेला अवलोकनकर्ताको भीड देखिन्छ। शनिबार मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरेपछि फुलका पारखी मेलामा झुम्मिएका छन्।
कार्यक्रम उद्घाटन गर्दै राज्यमन्त्री चौधरीले पुष्प व्यावसायको प्रवर्धन गरी आत्मनिर्भर बन्नुपर्ने बताए। सो अवसरमा पत्रकार, पुष्प व्यवसायी, नर्सरी सञ्चालक तथा किसानलाई सम्मान गरिएको थियो।
मेलामा मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ट्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादी गरी ८४ बिक्री कक्ष छन्।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिशीले पुष्प व्यवसायबाट मानिसको जीवनस्तरमा सुधार हुने बताए।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित सुरु भएको सो मेलामा ५० लाख व्यक्तिले अवलोकन तथा रु ६० लाखको आर्थिक कारोबार हुने अनुमान आयोजकको छ।
आयोजक फ्लोराकल्चर एशोसिएशन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजूले पुष्पजन्य वस्तुको प्रवर्धन, विस्तार, नयाँ प्रविधिको प्रचारप्रसार तथा जनचेतना जगाउने उद्देश्यले मेला आयोजना गरिएको बताए।
मेला चैत १० गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।